अवैध यौनधन्दा चलाएको आरोपमा होटल सञ्चालक पक्राउ
विराटनगर १३ मलाया रोडस्थित एक होटलमा अवैध यौनधन्दा चलाएको आरोपमा प्रहरीले बिहीबार दिउँसो होटल सञ्चालकलाई पक्राउ गर्नुका साथै त्यहाँबाट दुई जना किशोरीको सकुशल उद्धार गरेको छ । पक्राउ परेका र उद्धार गरिएकाहरूको पहिचान भने प्रहरीले हाल गोप्य राखेको छ।
केही दिनअघि मात्रै सञ्चालनमा आएको र नामसमेत नराखिएको उक्त होटलमा किशोरीहरूलाई राखेर भारतबाट आउने व्यक्तिहरूसँग अवैध यौनधन्दामा लगाउने गरिएको गोप्य सूचना मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई म्यासेजमार्फत प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवाल र सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइराला नेतृत्वको टोलीले छापा मारेको थियो।
होटलमा अवैध गतिविधि हुने गरेको सूचनाका आधारमा विशेष अपरेशन चलाएर किशोरीहरूको उद्धार गरी सञ्चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको एसपी कटुवालले बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस