घरकै बरण्डामा ५५ वर्षीय पुरुषको बीभत्स हत्या
इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको बीभत्स हत्या भएको छ। आफ्नै घरको बरण्डामा ५५ वर्षीय कमल परियार मृत अवस्थामा फेला परेका हुन्।
उनको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा धारिलो हतियार प्रहार गरिएको गम्भीर चोटसहितको शव भेटिएको प्रहरीले जनाएको छ।
असोज ३१ गते शनिबार बिहान ८:३० बजे स्थानीयले घटनाबारे खबर गरेलगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको एक थान धारिलो हतियार समेत बरामद गरेको छ।
प्रारम्भिक अनुसन्धान अनुसार परियार विगत चार वर्षदेखि घरमा एक्लै बस्दै आएका थिए। हत्यामा संलग्न व्यक्ति हाल फरार रहेको र उनको तीव्र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाका सम्बन्धमा थप गहन अनुसन्धान जारी छ।



तपाईको प्रतिक्रिया दिनुहोस