फार्मेसी कि लागुऔषधको अखडा? हजारौँ प्रतिबन्धित चक्कीसहित मेडिकल सञ्चालिका पक्राउ
पोखरामा औषधि पसलको आवरणमा प्रतिबन्धित लागुऔषधको अवैध कारोबार भइरहेको फेला परेको छ। मेडिकलबाटै ठूलो परिमाणमा प्रतिबन्धित औषधिको धन्दा चलाइएको पुष्टि भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलकी सञ्चालिक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले हजारौँ चक्की लागुऔषधसहित नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले बुधबार उक्त फार्मेसीमा छापा मारेको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानका अनुसार खानतलासीका क्रममा सञ्चालिकाको साथबाट चार प्रकारका प्रतिबन्धित लागुऔषधजन्य औषधि बरामद गरिएको छ।
प्रहरीले उनको साथबाट कोडिप–पी (कोडिन) ६ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डियाजेपोक्साइड १६० चक्की बरामद गरेको छ।
पक्राउ परेकी सञ्चालिका ढुङ्गानाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी कानुनी कारबाही र थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ। पोखरामा यसअघि पनि पटक-पटक मेडिकलको आवरणमा लागुऔषधको अवैध कारोबार हुने गरेको पाइएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस