सांसद थपलियाकै डेरामा ठूला चोरी, तीन जना पक्राउ
काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा नेपाली कांग्रेसकी समानुपातिक सांसद उर्मिला थपलियाको डेरासहित दुई स्थानमा ठूलो परिमाणको धनमाल चोरी भएको छ। दसैँको बिदामा परिवारका सदस्यहरू घर गएको मौका छोपेर चोरहरूले नगद तथा जिन्सी उढाएका हुन्।
सांसद थपलियाको डेराबाट ८ तोला सुन र ८० हजार रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ। उक्त घटनाबारे कात्तिक ५ गते प्रहरीलाई जानकारी गराइएको थियो।
यसैगरी, कात्तिक ६ गते कलङ्कीमै रहेको नीरज नेपालको घरमा पनि चोरी भएको छ। नेपालको घरबाट १३९ तोला चाँदी, १ तोला सुन र १० हजार रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ।
एउटै समूहको संलग्नता, तीन पक्राउ
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुवै स्थानको चोरीमा एउटै आपराधिक समूह संलग्न रहेको खुलेको छ। चोरीमा संलग्न रहेको आरोपमा तीन जना शङ्कस्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख (एसएसपी) दिलीप घिमिरेका अनुसार काठमाडौँ परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। "चोरीमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएका छौँ, उनीहरूमाथि सोधपुछ र थप अनुसन्धान भइरहेको छ," एसएसपी घिमिरेले बताए।
प्रहरीले हालसम्म पक्राउ परेका आरोपीहरूको नाम तथा विवरण भने सार्वजनिक गरेको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस