इरानका विभिन्न प्रान्तमा अमेरिकी हवाई आक्रमणबाट ३८ जनाको मृत्यु
इरानका विभिन्न प्रान्तहरूमा अमेरिकाले गरेको तीव्र हवाई आक्रमणमा कम्तीमा ३८ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन्। इरानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार अमेरिकी सेनाले सैन्य ठेगानाका साथै पुल, ऊर्जा केन्द्र र समुद्री नियन्त्रण टावरसहितका नागरिक पूर्वाधारहरूलाई समेत निशाना बनाएको छ।
इरानी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार होर्मोजगन, बुसेहर, सिस्तान-बलूचिस्तान, खुजेस्तान र लोरेस्तान प्रान्तका विभिन्न क्षेत्रहरूमा आक्रमण भएको छ। चाबहारस्थित शाहिद कलन्तरी बन्दरगाहमा रहेको समुद्री नियन्त्रण टावर पूर्ण रूपमा ध्वस्त भएको छ। सेन्टकमले चाबहारको बन्दरगाहमा रहेको निगरानी टावर सफलतापूर्वक नष्ट गरेको पुष्टि गरेको छ। ओमानको खाडी र होर्मुज जलडमरूमध्ये चल्ने व्यापारिक जहाजहरूको जासुसी गर्न इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स' (IRGC) ले सो नेटवर्क प्रयोग गर्दै आएको अमेरिकी दाबी छ।
इरानले भने अमेरिकाले नियतवश नागरिक पूर्वाधार र आवासीय क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको छ। अहवाज नजिकै भएको आक्रमणका कारण क्यान्सर उपचारमा विशेषज्ञता प्राप्त 'शाहिद बाघाई अस्पताल' अस्थायी रूपमा खाली गर्नु परेको इरानी अधिकारीहरूले जनाएका छन्।
प्रान्तअनुसार खमीर काउन्टीका ६ वटा पुलहरू ध्वस्त भएका छन्, जसका कारण बन्दर अब्बास, बन्दर खमीर र लार जोड्ने यातायात मार्ग अवरुद्ध भएको छ। यस प्रान्तमा ७ जनाको मृत्यु र ९ जना घाइते भएका छन्।त्यसैगरी, बुसेहरमा दुई पटक आक्रमण भएको छ भने खुजेस्तानको अहवाज वरपरका क्षेत्रलाई लक्षित गरी बमबारी गरिएको छ। पश्चिमी इरानको चेगेनी काउन्टीस्थित वेसियान जिल्लामा पनि अमेरिकी विमानहरूले बम खसालेका छन्।
अमेरिकी आक्रमणको जवाफमा इरानले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरू विरुद्ध जवाबी कारबाही सुरु गरेको घोषणा गरेको छ। इरानले बहराइन, कुवेत, सिरिया र ओमानमा रहेका अमेरिकी सैन्य सम्पत्ति र स्थानहरूलाई लक्षित गरी आक्रमण गरिसकेको दाबी गरेको छ, जसका कारण पश्चिम एसिया (मध्यपूर्व) मा तनाव चरम सीमामा पुगेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस