सैन्य आक्रमण पन्छाउँदै ट्रम्पद्वारा इरानमाथि पूर्ण आर्थिक नाकाबन्दीको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक कारबाही’ सुरु गर्ने घोषणा गरेका छन्। दुई देशबीचको कूटनीतिक वार्ता असफल भएपछि ट्रम्पले इरानलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग वा आर्थिक राहत दिने जुनसुकै तेस्रो मुलुकले पनि कडा वित्तीय प्रतिबन्ध तथा कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले अमेरिकाको मुख्य र रणनीतिक उद्देश्य इरानलाई आणविक हतियार निर्माण गर्नबाट रोक्नु रहेको स्पष्ट पारेका छन्। यद्यपि, उनले आगामी दिनमा परिस्थिति अनुकूल भएमा इरानसँग पुनः वार्ता हुन सक्ने सम्भावनाको ढोका भने खुला नै राखिएको बताएका छन्।
अन्तर्राष्ट्रिय विश्लेषकहरूका अनुसार ट्रम्पको पछिल्लो वक्तव्यमा सैन्य कारबाही वा बल प्रयोगबारे कुनै पनि उल्लेख गरिएको छैन। यसअघिका साताहरूमा सैन्य आक्रमणको चेतावनी दिँदै आएका ट्रम्पले यसपटक भने पूर्ण रूपमा ‘आर्थिक नाकाबन्दी’ र कडा रणनीतिक घेराबन्दीमा आफ्नो ध्यान केन्द्रित गरेका छन्।
इरानको प्रमुख आयस्रोत रहेको तेल निर्यातलाई पूर्ण रूपमा ठप्प पार्न रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा विभिन्न कदमहरू अघि बढाइएसँगै अमेरिकाले थप कडा आर्थिक नीति लिने स्पष्ट संकेत गरेको छ। तथापि, इरानसँग व्यापारिक वा कूटनीतिक सम्बन्ध राख्ने अन्य तेस्रो मुलुकहरूमाथि कस्तो र कतिसम्मको कारबाही हुन्छ भन्ने विस्तृत विवरण भने हालसम्म सार्वजनिक भइसकेको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस