सुदूरपश्चिममा आज रातिदेखि भारी वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन आग्रह
सुदूरपश्चिम प्रदेशमा आज राति मौसम साधारणतया बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार यस क्षेत्रका हिमाली भूभागमा साधारणतया बदली रही केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनीले कैलाली र कञ्चनपुरका बाढी प्रभावित तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। बाहिनी मुख्यालयका बाहिनीपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिगविजय सुवेदीले जोखिमयुक्त क्षेत्रमा सूचनामूलक माइकिङसमेत गरिएको जानकारी दिएका छन्। उनले सम्भावित विपद्बाट बच्न मातहतका सबै युनिटहरूलाई तयारी अवस्थामा राखिएको बताएका छन्।
मौसम विज्ञान कार्यालयका अनुसार सोमबार दिउँसो पनि सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको क्रम जारी रहनेछ। सोमबार हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने पहाडी र तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम विभागले मौसम प्रतिकूल रहने देखिएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस