भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज भारी वर्षाको जोखिम
जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।
विभागका मौसमविद् बिनु महर्जनका अनुसार बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू–भागमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको छ भने अन्य प्रभावित क्षेत्रमा मध्यम वर्षा हुन सक्नेछ।
देशका विभिन्न स्थानमा अहिले पनि मध्यम वर्षा भइरहेको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै झापाको अनारमनी विर्तास्थित केन्द्रमा ३४ मिलिमिटर वर्षा मापन गरिएको छ । उनले भनिन्, “हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।” हाल देशभर सामान्यतया बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको अनुमान गरिएको छ।
लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरीसमेत चल्नसक्ने विभागको भनाइ छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग, देशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति पनि देशभर मौसम सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना कायमै छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ।
मौसम विभागले आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस