हुम्लाको सिमकोटमा १९७८ यताकै उच्च रेकर्ड ब्रेक वर्षा
पानी पार्ने प्रणाली पश्चिमतिर सरेसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ। विशेष गरी हुम्लाको सदरमुकाम सिमकोटमा २४ घण्टाको अवधिमा ११४.८ मिलिमिटर वर्षा मापन भएको छ, जुन सन् १९७८ पछिको सबैभन्दा ठूलो वर्षा भएको मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतले जनाएको छ।
कार्यालय प्रमुख डा. इन्दिरा कँडेलका अनुसार शुक्रबार दिउँसो १ बजेदेखि शनिबार दिउँसो १ बजेसम्मको २४ घण्टामा सिमकोटमा उक्त रेकर्ड ब्रेक वर्षा भएको हो।
यसअघि सिमकोटमा सन् २०२१ मा ११० मिलिमिटर र सन् २०१५ मा ९८ मिलिमिटर वर्षा रेकर्ड गरिएको थियो। डा. कँडेलले हुम्लाको भौगोलिक अवस्थिति र मौसमको हिसाबले ११४.८ मिलिमिटर पानी पर्नु विषम तथा ऐतिहासिक वर्षा भएको बताएका छन्।
जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कअनुसार समुद्री सतहदेखि २ हजार ९९३ मिटर उचाइमा रहेको सिमकोटमा हालसम्म १४ हजार ११३ दिनको वर्षा मापन गरिएको छ। त्यसमध्ये १ मिलिमिटरभन्दा बढी वर्षा भएका ३ हजार ७९४ दिनको अभिलेख रहेकोमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको यो पहिलो घटना हो। यसै अवधिमा सुर्खेतको वीरेन्द्रनगरमा पनि ७५.५ मिलिमिटर वर्षा मापन गरिएको छ।
अविरल र भारी वर्षाका कारण हुम्ला, जाजरकोट, कालीकोट, मुगु, जुम्ला र सल्यानका विभिन्न स्थानमा पहिरो गएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस