फेरि भारी वर्षाको खतरा, आइतबारदेखि कहाँ-कहाँ पर्दैछ पानी ?
लगातारको भारी वर्षा रोकिएर मंगलबारदेखि घाम लाग्न थालेपछि आम नागरिकमा फेरि मौसम बिग्रने हो कि भन्ने चासो बढेको छ। यहीबीच मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि पुनः हल्का वर्षा हुन सक्ने नयाँ आकलन सार्वजनिक गरेपछि 'के फेरि ठूलो वर्षा हुन्छ?' भन्ने प्रश्न उब्जिएको छ।
यस विषयमा महाशाखाका मौसमविद् मीनकुमार अर्यालले यो वर्षा कुनै नयाँ र विपत्तिजनक मौसमी प्रणालीका कारण नभई सामान्य स्थानीय वायुको प्रभाव मात्रै रहेको स्पष्ट पार्नुभएको छ। धान भित्र्याउने तयारीमा रहेका किसानहरूले यसबाट डराउनुपर्ने कुनै कारण नरहेको उहाँको भनाइ छ।
मौसमविद् अर्यालका अनुसार पछिल्लो पटक जस्तो लगातार र भारी वर्षा गराउने कुनै पनि ठूलो प्रणाली अहिले सक्रिय छैन। स्थानीय वायुको सामान्य प्रभावले मुख्यतया पहाडी भूभागमा छिटपुटदेखि मध्यम वर्षा गराउन सक्ने भए पनि तराईमा यसको प्रभाव निकै कम हुनेछ।
“अहिले पश्चिमी हावा क्रमशः बलियो हुँदै गएको छ र पूर्वबाट आउने मनसुनी हावालाई यसले विस्थापित गर्दै लैजाने प्रक्रिया सुरु भएको छ” अर्यालले भने जमिरबाट १५-१६ किलोमिटर माथि बहने जेट स्ट्रिम दक्षिणतर्फ सर्दै आएकाले मनसुन बाहिरिने आधारहरू पूरा हुँदैछन्।
अर्यालका अनुसार अबको ५ देखि १० दिनभित्र नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना छ। असोज १७–१८ गतेतिर केही स्थानीय न्यूनचापीय प्रणाली विकास भएर पहाडी क्षेत्रमा हल्का बादल वा वर्षा देखिए पनि त्यसलाई ठूलो विपद्को रूपमा बुझ्न नहुने उहाँले प्रष्ट पार्नुभयो।
दसैंमा पानी पर्छ कि पर्दैन?
चाडपर्व नजिकिँदै गर्दा 'दसैंमा पानी पर्छ कि पर्दैन?' भन्ने सर्वसाधारणको चासोको विषयमा मौसमविद्हरूले अहिलेसम्मको मौसमी परिदृश्य हेर्दा ठूलो वर्षाको कुनै संकेत नदेखिएको बताएका छन्। मौसमसम्बन्धी भरपर्दो जानकारीका लागि ३–४ दिनअगाडिको पूर्वानुमान बढी उपयोगी हुने भएकाले विभागले दसैं लक्षित विशेष सूचना पछि जारी गर्नेछ।
त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार पनि आइतबारदेखि ४–५ दिनसम्म हल्का वर्षाको सम्भावना रहे पनि यो देशभर एकैपटक नभई पूर्वी नेपाल र काठमाडौं आसपास बढी र पश्चिममा कम प्रभाव पार्ने खालको हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस