देशका यी स्थानमा वर्षा र हिमपात हुने
देशका विभिन्न भू-भागमा आज मौसम बदली हुनुका साथै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ। साथै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहनेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
महाशाखाले जनाए अनुसार हिमाली भू–भागका थोरै तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हावाहुरी तथा असिनासहित मध्यम वर्षाको सम्भावना छ।
यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्नेछ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
त्यसैगरी, आज राति कोशी प्रदेशका सबै भू–भाग तथा देशका अन्य हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। राति बिहानीपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। राति हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, राति तराई भू–भागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस