हिमाली तथा पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार तराईका अधिकांश भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ। आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने हिमाली क्षेत्रका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। त्यसैगरी, रातिको समयमा देशका हिमाली भू–भागमा आंशिक बदली रहने तथा पहाडी र तराईका भू–भागमा मौसम मुख्यतया सफा रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आगामी बिहीबार (असोज २९ गते) को मौसम पूर्वानुमान जारी गर्दै देशका विभिन्न भू–भागमा बदली र वर्षाको सम्भावना रहेको जनाएको छ। बिहीबार दिउँसो देशका हिमाली भू–भागमा साधारणतया बदली र पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा वर्षा तथा हिमपात हुन सक्नेछ। साथै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस