Techie IT
२०८३ श्रावण ६, बुधबार

अविरल वर्षाले चार प्रदेशका मुख्य राजमार्ग अवरुद्ध


अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेश जोड्ने मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार बागमती, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका कयौँ सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा प्रभावित भएका हुन्।

बागमती प्रदेश
बागमती प्रदेशका सडकहरू सबैभन्दा बढी प्रभावित भएका छन्। सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथमा पनि सुरक्षाका कारण रातिको समयमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ। यस्तै, अरनिको राजमार्ग सिन्धुपाल्चोकको जिरोकिलो र कोदारी खण्डमा पहिरो खस्दा पूर्ण रूपमा बन्द छ भने पासाङ ल्हामु राजमार्ग एकतर्फी मात्र सञ्चालनमा छ।

कोशी प्रदेश
कोशी प्रदेश अन्तर्गत मेची राजमार्गको इलामस्थित राजदुवाली खण्ड पूर्ण रूपमा बन्द भएको छ। यद्यपि, त्यहाँ वैकल्पिक बाटो प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। मध्यपहाडी लोकमार्ग खोटाङको माम्खामा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ भने भोजपुरको बोखिम खण्डमा बाढीका कारण यातायात एकतर्फी मात्र सञ्चालन भइरहेको छ।

गण्डकी र सुदूरपश्चिम प्रदेश
गण्डकी प्रदेशको कालीगण्डकी करिडोर अन्तर्गत बागलुङको बेलबगरमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यता सुदूरपश्चिममा महाकाली राजमार्ग दार्चुलाको पनेबाँज र ऐरिछिनामा पहिरो खसेका कारण यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट