देशभर डुबेर मृत्यु हुनेको संख्या बढ्दो, चार दिनमा ६ जनाको निधन
पछिल्ला केही दिनयता नेपालका विभिन्न स्थानमा पानीमा डुबेर ज्यान गुमाउनेको संख्या बढेको छ। बिहीबारदेखि आइतबारसम्मको अवधिमा मात्रै बालबालिकासहित ६ जनाले अकालमा ज्यान गुमाएका छन्।
उदयपुर: कटारी नगरपालिका-३ मा पौडी खेल्ने क्रममा हडैया खहरे खोलामा डुबेर तीन बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ वर्षीय सुमित कुमार दनुवार, ७ वर्षीय सुगम कुमार दनुवार र ८ वर्षीय आदित्य कुमार दनुवार रहेका छन्। उनीहरूको उपचारका क्रममा कटारी अस्पतालमा मृत्यु भएको हो।
कपिलवस्तु: शुद्धोधन गाउँपालिका-१ मा ४८ वर्षीय चिनक यादवको आफ्नै घर नजिकै रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको छ।
सिन्धुली: दुधौली नगरपालिका-१० मा ९ वर्षीय सरगम लोप्चन तामाङको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको छ।
नवलपरासी पश्चिम: बर्दघाट नगरपालिका-६ मा ६० वर्षीय गणेश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको छ।
यी सबै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। वर्षायाममा खोलानाला तथा पोखरीमा पानीको सतह बढ्ने भएकाले विशेष सावधानी अपनाउन र बालबालिकालाई खोला वा पोखरीतिर एक्लै जान नदिन स्थानीय प्रशासनले सचेत गराएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस