यी ३२ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार देशका प्रमुख तथा मझौला नदीहरूमा बाढीको बहाव हाल सतर्कता तहभन्दा तलै रहेको छ। महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली तथा यिनका सहायक नदीहरूमा जलसतह सामान्य अवस्थामा छ। यस्तै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि बाढीको कुनै ठूलो जोखिम देखिएको छैन।
ठूला नदीहरूमा अवस्था सामान्य रहे पनि पहाडी तथा हिमाली भूभागका साना नदी र खोलाहरूमा भने आकस्मिक बाढीको खतरा औँल्याइएको छ। महाशाखाले देशका ३२ जिल्ला भएर बहने साना नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ।
पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनका साना नदीमा जलसतह बढ्न सक्नेछ। यसैगरी गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बझाङ र डोटीका आसपास भएर बहने खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमानलाई दृष्टिगत गर्दै महाशाखाले आगामी दुई दिनसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। बुधबार र बिहीबार विशेषगरी कोशी र गण्डकी प्रदेश भएर बहने केही साना नदीहरूमा बहाव अचानक बढ्ने सम्भावना छ। तसर्थ, जोखिमयुक्त क्षेत्रका नदी तथा खोला किनारमा बसोबास गर्ने सम्पूर्ण सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस