थबाङमा पहिरो जाँदा घर र गोठ बगायो, दुई जनाको मृत्यु
अविरल वर्षाका कारण आएको पहिरोले रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा घर र गोठ पूर्ण रूपमाि पुरिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ–५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर रहेका छन् । त्यसैगरी, घटनामा परी सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन् ।
साउन २७ गते दिउँसोदेखि लगातार परेको अविरल वर्षाका कारण गएको पहिरोले घर तथा गोठहरू मडारिएर पुरिएका थिए । घटनालगत्तै गए राति नै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा घाइतेहरूको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको छ । घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुमान अनुसार पहिरोका कारण सो क्षेत्रमा करिब ६ वटा घर तथा गोठहरूमा क्षति पुगेको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस