Techie IT
२०८३ श्रावण ३१, आइतबार

जाजरकोट पहिरो: घर भत्किँदा १० जना घाइते, ३ जना सम्पर्कविहीन (नामावली सहित)


जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा अविरल वर्षापछि गएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने ३ जना सम्पर्कविहीन भएका छन्। हिजो दिउँसोदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोमा परेर धनजनको क्षति भएको छ। घटनालगत्तै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी ५० जनाको सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ।

घर तथा संरचनामा क्षति
पहिरोका कारण भेरी नगरपालिका-३, स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा-माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ भने परिवारका पाँचै जना सदस्य सुरक्षित रूपमा आफन्तको घरमा आश्रय लिएका छन्। त्यस्तै, सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा नष्ट भएका छन्, जहाँ हाल मानिस बसोबास नगरेको बताइएको छ।

घाइतेहरूको विवरण
घटनामा परी घाइते भएका १० जनामध्ये गम्भीर घाइतेहरूलाई थप उपचारका लागि बाहिर रिफर गरिएको छ ।

घाइतेहरू -

१. रामबहादुर शाही (६० वर्ष, रिसाङ): आरनमा काम गरिरहेको बेला पहिरोमा परी छाती, टाउको र हातमा गम्भीर चोट। जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि राति नेपालगञ्ज रिफर।
२. सिद्धिबहादुर कामी (४५ वर्ष, रिसाङ): आरन सञ्चालक, ढाडमा चोट। जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको र अवस्था सामान्य।
३. भद्राकली कार्की (५७ वर्ष, चिसापानी): शरीरका विभिन्न भागमा गम्भीर चोट। जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात राति सुर्खेत रिफर।
४. मनवीर चदरा (४५ वर्ष, डौरीकाँडा): टाउकोमा चोट, अवस्था मध्यम। स्थानीय मेडिकलमा उपचाररत।
५. मनिषा विक (१६ वर्ष, डौरीकाँडा): शरीरमा चोट। स्थानीय मेडिकलमा उपचाररत।
६. मोतीकला विक (४७ वर्ष, डौरीकाँडा): हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट। स्थानीय मेडिकलमा उपचाररत।
७. केदार कार्की (५२ वर्ष, भेरी-२): हातखुट्टा तथा शरीरमा चोट। जिल्ला अस्पतालमा सामान्य उपचारपछि राति नेपालगञ्ज रिफर।
८. अनिता कार्की (२३ वर्ष, भेरी-२): बायाँ खुट्टामा चोट। जिल्ला अस्पतालमा उपचाररत।
९. युनिश शाही (१० वर्ष, रिसाङ): लक्ष्मी केसीका छोरा, सामान्य चोट। जिल्ला अस्पतालमा उपचाररत।
१०. सुन्तली चदरा (४५ वर्ष, रिसाङ): खुट्टामा चोट। जिल्ला अस्पतालमा उपचाररत।

पहिरो आएपछि ज्यान बचाउन भाग्ने क्रममा तीन स्थानीय बेपत्ता भएका छन् । वेपत्ताहुनेहरुको नामावली

१. उमासिंह खत्री (करिब ५४ वर्ष, फारुला)
२. भीमबहादुर कार्की (करिब ७० वर्ष, चिसापानी)
३. रती खत्री (करिब ८७ वर्ष, भेरी-२)

सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारकार्य जारी रहेको छ भने घटनास्थलको थप विवरण आउने क्रम जारी रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट