Techie IT
२०८३ भाद्र १६, मंगलबार

८ दिनमा करेन्ट लागेर ११ जनाको मृत्यु, विद्युतीय जोखिम उच्च बन्दै


देशभर पछिल्लो आठ दिनको अवधिमा विद्युतीय धरापमा परेर ११ जनाको ज्यान गएको छ। भदौ ८ गतेदेखि १५ गतेसम्मको अवधिमा घर, खेत तथा कार्यस्थलमा जडान गरिएका विद्युतीय मोटर, खुला तार, पंखा मर्मत र निर्माण कार्यका क्रममा भएको लापरबाहीका कारण देशका विभिन्न जिल्लामा मानवीय क्षति बढेको हो।

प्राप्त विवरण अनुसार भदौ ८ गते मोरङको बुढीगंगा र रौतहटको गौरमा मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको थियो भने भदौ ९ गते सर्लाहीमा सिलिङ पंखा बनाउने क्रममा १ जनाको ज्यान गयो। यसैगरी, भदौ १० गते कैलालीको चुरे सामुदायिक वनमा घाँस काट्ने क्रममा रूखमा टाँगिएको तारबाट र धनुषामा विद्युतीय बोर्डबाट करेन्ट लागी २ जनाको मृत्यु भयो। भदौ ११ गते काठमाडौंको नागार्जुनमा ढलान गर्ने क्रममा, बारा र सप्तरीमा मोटर तथा तार जोड्ने क्रममा ३ जनाले ज्यान गुमाए।

त्यस्तै, भदौ १३ गते मकवानपुरको मनहरीमा पानी तान्ने मोटरबाट र भदौ १४ गते मोरङको विराटनगर तथा सिराहाको औरहीमा तार जडान गर्ने क्रममा थप ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। शृङ्खलाबद्ध रूपमा घटिरहेका यस्ता घटनाहरूको अन्तिम दिन अर्थात् भदौ १५ गते मात्रै मिर्चैयामा मोटरबाट, काठमाडौंको ग्रिल कारखानामा काम गर्ने एक कामदार र बाँकेमा ७ वर्षीय बालक समेत गरी ३ जनाको करेन्ट लागेर ज्यान गएको छ।

मोराङ, सिराहा, रौतहट, सर्लाही, कैलाली, धनुषा, काठमाडौं, बारा, सप्तरी, मकवानपुर र बाँकेमा भएका यी घटनाहरूप्रति प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। पछिल्लो समय घरायसी तथा व्यावसायिक प्रयोजनमा विद्युतीय उपकरणहरूको प्रयोग बढ्दै गए पनि सुरक्षा मापदण्ड र सचेतनाको अभावमा यस्ता दुर्घटनाहरू चुलिँदै गएकाले गम्भीर सावधानी अपनाउनुपर्ने देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट