Techie IT
२०८३ असोज २५, आइतबार

बुढीगण्डकीमा महाविपत्ति: ३५ घर र तीनवटा पुल बगे, तटीय क्षेत्र अस्तव्यस्त


वर्षा नभए पनि गोरखाको हिमाली क्षेत्रमा सुक्खा पहिरोले खोला थुनिएर फुट्दा बुढीगण्डकी नदीमा विनाशकारी बाढी आएको छ। चुमनुब्री गाउँपालिका–६ स्थित खारोङ र उङजुलुङको बीचमा खसेको सुक्खा पहिरोले स्यार खोला थुनिएपछि फुटेर आएको बाढीले तटीय क्षेत्रका बस्ती तथा पूर्वाधारहरूमा ठूलो क्षति पुर्‍याएको छ।

आइतबार बिहान करिब ४:०० बजेतिर एकाबिहानै ठूलो गर्जनसहित बस्तीमा बाढी पसेपछि सर्वसाधारण ज्यान जोगाउन घरका लत्ताकपडा र अन्नपात समेत छोडेर डाँडा तथा जङ्गलतर्फ भागेका थिए। बाढीले चुमनुब्री गाउँपालिकाका पैयू र बगर गाउँका ३५ वटा घर पूर्ण रूपमा बगाएको छ। बाढीको भीषण बहावले जगत बगर क्षेत्रको नामनिसान नै मेटिदिएको छ भने घट्टेखोलास्थित विकास प्राथमिक विद्यालयको भवनसमेत सोत्तर बनाएको छ।

बाढीको प्रभाव तल्लो तटीय क्षेत्रसम्म फैलिँदै जाँदा भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। बाढीले दोभानको बेलिब्रिज, केरौँजा जोड्ने झोलुङ्गे पुल र बिहान ७:३० बजे सोती बजार पुगेर सोती बजारको पुल तथा आसपासका टहराहरू बगाएको छ। चुमनुब्रीका साथै धार्चे गाउँपालिकाका दोभान, घट्टेखोला, जगत्, सल्लेरी, पयुँ र सोती बजार क्षेत्र बाढीबाट अत्यधिक प्रभावित भएका छन्। सिर्दिबास क्षेत्रमा भने नदीले तीव्र रूपमा जमिन कटान गरिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सो क्षेत्रमा वर्षा भएको थिएन। जलधार थुनिएर एकाएक फुटेकाले तल्लो क्षेत्रमा क्षति बढी भएको हो। बाढीको जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा एसएमएस अलर्ट (SMS Alert) जारी गरेको छ। प्राधिकरणका अनुसार बाढी आरुघाटसम्म पुग्न समय लाग्ने भएकाले खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित र उँचो स्थानमा जान प्रहरीले अपिल गरेको छ।

विपदग्रस्त क्षेत्रमा उद्धार र राहत कार्यलाई तीव्रता दिन हेलिकोप्टर परिचालन गरिएको छ। स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा उद्धार तथा क्षतिको विस्तृत विवरण सङ्कलनमा खटिएका छन्। बाढीले सञ्चार र यातायात सम्पर्क अवरुद्ध पारेकाले क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट