करेन्ट लागेर ३ जनाको मृत्यु
देशका विभिन्न जिल्लामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। उदयपुर, महोत्तरी र कैलालीमा मङ्गलवार साँझ भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज्यान गएको हो।
प्रहरीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका-११, ज्योति नगर टोलका ६५ वर्षीय बद्री नारायण चौधरीको आफ्नै घरमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा निधन भएको हो।
त्यस्तै, महोत्तरीको बलवा नगरपालिका-६, बलवा बजारस्थित मेलामा पिङ/झुलाका लागि प्रयोग गरिएको विद्युत्को तारबाट करेन्ट लाग्दा १० वर्षीया बालिकाको मृत्यु भएको छ। मनराशिसवा नगरपालिका-६, सरपल्लोका सुजय महतोकी छोरी १० वर्षीया अंशु कुमारी महतोको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यता कैलालीको धनगढी उपमहानगरपालिका-१९, जे गाउँकी ४७ वर्षीया लालमोती चौधरीको पनि करेन्ट लागेर ज्यान गएको छ। आफ्नै घरमा रहेको पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नवजीवन अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनाहरूबारे सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस