भारतबाट ग्यास बोकेका बुलेट काठमाडौं आउन सुरु, आपूर्ति सहज हुने
अविरल वर्षाका कारण विगत चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएपछि भारतबाट ग्यास बोकेका बुलेटहरू काठमाडौँ भित्रिन सुरु गरेका छन्। यससँगै काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति पुनः सहज हुने भएको छ।
गत असोज ८ गते रातिदेखि प्रतिकूल मौसम र सडक अवरोधका कारण ठप्प बनेको ग्यास आपूर्ति आजदेखि पुनः सुचारु भएको हो। काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका लागि एलपी ग्यास बोकेका बुलेटहरू यही मुख्य राजमार्ग भएर भित्रिने गर्दछन्। चार दिनसम्म सडक पूर्ण रूपमा बन्द हुँदा ग्यासका बुलेटहरू बाटोमै रोकिएका थिए।
पृथ्वी राजमार्ग सञ्चालनमा आएसँगै रोकिएका बुलेटहरू गन्तव्यतर्फ अघि बढेका छन्। नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार बाटो खुलेसँगै आज मात्रै १०५ भन्दा बढी ग्यास बुलेट काठमाडौँतर्फ आउने क्रममा रहेका छन्। साँझसम्ममा यो सङ्ख्या अझै बढ्ने र बाँकी रहेका सबै बुलेट भित्रिने निगमले जनाएको छ।
प्रवक्ता ठाकुरले बाटोबाट भित्रिएका यी बुलेटमार्फत भोलिदेखि नै बोटलिङ प्लान्टहरूमा ग्यास रिफिलिङ (भर्ने) कामलाई तीव्र पारिने बताएका छन्। यसरी भरिएका सिलिन्डरहरू तत्काल बजारमा पठाएर सर्वसाधारणलाई सुचारु रूपमा वितरण गरिनेछ। मुख्य राजमार्ग खुलेर ग्यासका बुलेटहरू निरन्तर भित्रिन थालेपछि अब बजारमा देखिएको ग्यासको अभाव छिट्टै हट्ने विश्वास गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस