मन्त्री शर्माको पहलमा बाजुरा जिल्ला अस्पतालमा पठाइयो विशेषज्ञ डाक्टर
सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाले विकट जिल्ला अस्पताल बाजुराका लागि एमडीजीपी (MDGP) विशेषज्ञ डाक्टरको व्यस्था गरेकी छन् ।
केही महिनादेखि विशेषज्ञ डाक्टरको अभावमा गम्भीर प्रकृतिका बिरामीहरू बाहिर रिफर गर्नुपर्ने बाध्यता र त्यसबाट सेवाग्राहीले भोग्दै आएको सास्तीलाई ध्यानमा राख्दै मन्त्री शर्माले पदभार ग्रहणलगत्तै मन्त्रालयको टोलीलाई यो समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी थिइन्।
सोही निर्देशनअनुसार आज जिम्मेवारी लिएका विशेषज्ञ डा. राहुल श्रेष्ठले अबको दुई वर्षसम्म बाजुरा जिल्ला अस्पतालमा बसेर सेवा दिनेछन्। अस्पतालमा लामो समयसम्म विशेषज्ञ डाक्टर सेवा दिने निश्चित भएसँगै त्यहाँका स्थानीय बासिन्दाले ठूलो राहत महसुस गरेको अस्पतालमा कार्यरत डा. हरिश मल्लले रैवारप्रेसलाई बताएका छन्।

यसैबीच, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर रावतले अस्पतालको भौतिक संरचना सुधार र आवश्यक उपकरणको व्यवस्थाका लागि मन्त्री शर्मासमक्ष मागपत्र पेस गरेका छन्। सो अवसरमा मन्त्री शर्मा र मन्त्रालयका निमित्त सचिव डा. नीरज अर्यालले दुर्गम क्षेत्रका अस्पतालहरूमा आवश्यक पूर्वाधार र उपकरणको प्रबन्ध गरी सेवालाई थप चुस्त बनाउन मन्त्रालय सदैव लागिपरेको प्रतिबद्धता व्यक्त गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस