नेपालमा पोर्चुगलको काउन्सिलर कार्यालय खुल्ने
नेपाल सरकारले पोर्चुगललाई काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना गर्न औपचारिक सहमति प्रदान गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा उक्त कार्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो।
पछिल्लो समय अध्ययन र वैदेशिक रोजगारीका लागि नेपालीहरूको आकर्षक गन्तव्य बन्दै गएको पोर्चुगलमा हाल ७० हजारभन्दा बढी नेपाली बसोबास गर्दै आएका छन्। नेपालमा पोर्चुगलको राजदूतावास नहुँदा भिसा तथा अन्य काउन्सिलर सेवाका लागि भारतको नयाँ दिल्लीस्थित दूतावास जानुपर्ने नेपालीहरूको बाध्यता अब हट्ने भएको छ। काठमाडौंमै कार्यालय खुलेपछि सेवाग्राहीहरूले सहज रूपमा सेवा लिन सक्नेछन्।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन वार्ता तथा २९ अप्रिलदेखि १ मे २०२६ सम्म नेपाल भ्रमणमा आएकी पोर्चुगलकी उप–विदेशमन्त्री डा. आना इसाबेल जेभिएरको भेटघाटमा यससम्बन्धी प्रक्रिया अघि बढाइएको थियो। भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले कार्यालय स्थापनाका लागि नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस