चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न आइजीपी कार्कीको कडा निर्देशन
प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले नजिकिँदै गरेका महान् चाडपर्वहरूमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन विशेष सुरक्षा योजना अपनाएर प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न कडा निर्देशन दिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयबाट शनिबार भर्चुअल माध्यमद्वारा आयोजित कार्यक्रममा सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयमा निर्देशन सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट तथा अन्य आपराधिक घटनाहरूलाई समयमै नियन्त्रण गर्न सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता र सक्रियता देखाउनुपर्नेमा आइजीपी कार्कीले जोड दिए। उनले आ-आफ्नो जिम्मेवारी क्षेत्रमा स्थानीय तह र सरोकारवाला पक्षहरूसँग समन्वय गरी उत्तरदायी र जवाफदेही सेवा प्रवाह गर्न आदेश दिएका छन्।

यस्तै, चाडपर्वका बेला हुने सवारी दुर्घटना घटाउन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न, सामाजिक सद्भाव बिगार्ने तत्वहरूमाथि कडा निगरानी राख्न, सीमा नाकामा हुने तस्करी तथा आपराधिक गतिविधि रोक्न र फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्न उनले मातहतका निकायलाई निर्देशन दिएका छन्। यसका लागि सूचना सङ्कलन र विश्लेषणलाई थप चुस्त बनाउनुपर्नेमा उनले जोड दिए।
प्रहरीको व्यावसायिक मर्यादा र अनुशासनको पूर्ण पालना गर्नुपर्ने बताउँदै आइजीपी कार्कीले सामाजिक सञ्जालको मर्यादित प्रयोग गर्न चेतावनी दिएका छन्। सांगठनिक लक्ष्यभन्दा माथि व्यक्तिगत स्वार्थ राख्ने र गैरव्यावसायिक गतिविधिमा संलग्न हुने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याएर छाड्ने चेतावनीसमेत उनले दिए।
भर्चुअल कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले, उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर, ट्राफिक व्यवस्थापन कार्यालय तथा मातहतका मुद्दा चल्ने एकाइका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस