नेपाल विद्युत प्राधिकरणको ‘एई साथी’ योजना लागुहुदै
नेपाल विद्युत प्राधिकरणले प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन ‘एनइए एई साथी’ प्रणाली (एप) सञ्चालनमा ल्याउने तयारी गरेको छ। संस्थालाई सरल, सक्षम र भविष्यउन्मुख बनाउने दीर्घकालीन रणनीतिअनुसार उक्त योजना अघि सारिएको हो।
प्राधिकरणले कृत्रिम बुद्धिमत्ता (एआई) लाई केवल प्रविधि होइन, संस्थागत ‘साथी’का रूपमा आत्मसात गर्ने अवधारणासहित यो प्रणाली विकास गर्न लागेको जनाएको छ। यही उद्देश्यका साथ ‘ह्याकाथन इभेन्ट–२०८२’ आयोजना गरिएको जानकारी दिइएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले एआईलाई जटिल प्रविधि नभई आवश्यक पर्दा सहयोग गर्ने साथीका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार ‘एई साथी’ नाम नै जनमैत्री अवधारणा हो, जसले सेवाग्राहीलाई सहज रूपमा आवश्यक सूचना र सेवा प्राप्त गर्न सहयोग पुर्याउनेछ।
प्राधिकरणका अनुसार ‘एआई’ लाई सहकार्य गर्ने साथीका रूपमा स्थापित गर्ने दीर्घकालीन सोचसहित यो पहल गरिएको हो। संस्थाभित्रै आयोजित ‘ह्याकाथन’ मा कर्मचारीबाट २७ वटा प्रस्ताव प्रस्तुत भएका छन्। ती प्रस्ताव ग्राहक सेवा सुधार, प्रशासनिक प्रक्रिया सरलीकरण, डेटा विश्लेषण, नीतिगत तथा कानुनी सहजीकरणलगायत विषयमा केन्द्रित छन्।
प्रस्तुत प्रस्तावहरूको मूल्यांकनपछि उत्कृष्ट र व्यवहारिक अवधारणालाई चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने तयारी गरिएको छ। प्रारम्भिक चरणमा ‘एई साथी’ प्रणाली ग्राहक सेवा र सूचना प्रवाहमा केन्द्रित हुनेछ भने आगामी चरणमा प्राविधिक विश्लेषण, लोड व्यवस्थापन, पूर्वानुमान तथा डेटा–आधारित निर्णय प्रक्रियासम्म विस्तार गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले यसलाई संस्थागत नवप्रवर्तन, डिजिटल रूपान्तरण र सेवा सुधारतर्फको महत्वपूर्ण सुरुआतका रूपमा लिएको छ। सार्वजनिक निकायहरूमध्ये एआईको प्रयोगतर्फको यो पहल सम्भवतः पहिलो प्रयास हुनसक्ने प्राधिकरणको दाबी छ।



तपाईको प्रतिक्रिया दिनुहोस