Techie IT
२०८३ मंसिर १४, आइतबार

आमा खरानीबाट उठेर आएँ... भन्ने गीत लेखेकै कारण आइजिपी हटाइयो - नेता बस्नेत


नेकपा (एमाले) नेता, महेश बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले विगतमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले भदौ २३ र २४ गतेको आन्दोलनमा ‘आगोमा घिउ थपेझैँ’ काम गरेको टिप्पणी गरेका छन् । पार्टीको विस्तारित बैठकमा सहभागी हुन सिन्धुली आइपुगेका उनले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सञ्जाल बन्द नगरीकनै नियमनको दायरामा ल्याउन सकिन्थ्यो कि भन्ने विषयमा अहिले पार्टीभित्र समीक्षा भइरहेको बताएका हुन् ।

प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), ‘वार रुम’ र ‘मोबाइल फार्मिङ’ मार्फत हुने प्रहारको डिजिटल प्लेटफर्मबाटै प्रतिरोध गर्न विगतमा नवलपरासीको एक कार्यक्रममा आफूले ‘साइबर सेना’ को अवधारणा अघि सारेको उनले स्पष्ट पारे । यद्यपि, 'साइबर सेना' कुनै औपचारिक सांगठनिक संरचना नभएको उनको भनाइ छ ।

फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जाल कम्पनीहरू नेपालमा दर्ता र करको दायरामा नआएको उल्लेख गर्दै सचिव बस्नेतले अल्गोरिदमको दुरुपयोगले नयाँ पुस्ता दिग्भ्रमित हुँदै गएको बताए । सामाजिक सञ्जाललाई सही ढङ्गले नियमन र परिचालन गर्न नसके समाज विघटनको दिशामा जाने खतरा औँल्याउँदै उनले यसमा सबै पक्षको साझा दायित्व हुनुपर्नेमा जोड दिए ।

अर्को प्रसङ्गमा बस्नेतले प्रहरी र कर्मचारीतन्त्रसँग एमाले नडराएको दाबी गर्दै प्रधानमन्त्री बालेन पक्षधरहरू राज्यका संयन्त्रसँग डराइरहेको आरोप समेत लगाएका छन् । सरकारको नेतृत्व गरिरहेको पक्षसँग न्यायालय, निजामती प्रशासन र प्रहरीमाथि विश्वास नरहेको उनको जिकिर छ ।

उहाँहरूलाई न्यायालयप्रति विश्वास छैन, त्यसैले आफ्नै मान्छेलाई प्रधानन्यायाधीश बनाउने प्रयास भइरहेको छ। नेता बस्नेतले आरोप लगाउँदै भने, “कर्मचारीमाथि विश्वास नभएरै ५५ वर्षे उमेर हद वा ३० वर्षे सेवा अवधिको नीति ल्याएर एकैपटक १५–२० हजार कर्मचारीलाई बिदा गर्ने र आफ्ना कार्यकर्ता भर्ती गर्ने योजना बनाइएको छ । उनले ‘आमा म त फर्केर आएँ, खरानीबाट उठेर आएँ’ भन्ने गीत लेखेकै आधारमा तत्कालीन प्रहरी महानिरीक्षक (आइजिपी) लाई हठात् हटाएर अनुकूलको व्यक्ति ल्याइएको आरोपसमेत लगाएका छन् ।

प्रहरी, प्रशासन र सेनाप्रति एमालेको कुनै अविश्वास नरहेको स्पष्ट पार्दै बस्नेतले सुरक्षा निकायलाई कुनै शक्ति केन्द्र वा सरकारको ताबेदारी नगरी निष्पक्ष भूमिका निर्वाह गर्न सुझाव दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट