चन्द्रमामा मानव बस्ती बनाउने नासाको महाअभियान, चार कम्पनीलाई दियो अर्बौँ डलरको ठेक्का
नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडानअघि नै चन्द्रमामा स्थायी आधार निर्माणको महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गर्दै चार अमेरिकी कम्पनीलाई सयौँ करोड डलर बराबरका ठेक्का प्रदान गरेको छ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगलबार सार्वजनिक गरेको योजना अनुसार चन्द्र आधार विकासको प्रारम्भिक चरणमा ल्यान्डर, रोभर र ड्रोनजस्ता अत्याधुनिक उपकरणहरू चन्द्र सतहमा पठाइनेछन्। यी उपकरणहरूले भविष्यमा मानव बसोबास, वैज्ञानिक अनुसन्धान र मङ्गल अभियानका लागि आधार तयार गर्नेछन्।
जेफ बेजोसको कम्पनी ब्लयु वरिजिनले चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्न सक्ने ल्यान्डर उपलब्ध गराउनेछ। उक्त ल्यान्डरमार्फत चन्द्र सतहमा रोभरहरू पुर्याइनेछ। चन्द्र भू–सवारी साधन निर्माणको जिम्मेवारी अस्ट्रोल्याब र लुनार आउटपोष्ट लाई दिइएको छ।
यस्तै, गत वर्ष सफल चन्द्र अवतरण गरिसकेको फायरली इरोस्पेसले चन्द्रमामा पहिलो ड्रोन पठाउने जिम्मेवारी पाएको छ। नासाका अनुसार यी सम्पूर्ण उपकरणहरू सन् २०२८ मा प्रस्तावित पहिलो मानव अवतरणअघि नै चन्द्रमामा पुगिसक्नुपर्नेछ । यसले आर्टेमिस कार्यक्रमअन्तर्गत हुने मानव मिसनका लागि आधार तयार पार्नेछ।
यसअघि सम्पन्न आर्टेमिस–२ मिसनमा चार अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको परिक्रमा गर्दै ऐतिहासिक यात्रा गरेका थिए। यसलाई अपोलो युगपछिको सबैभन्दा गहिरो अन्तरिक्ष यात्रा मानिएको छ। आगामी आर्टेमिस–३ मिसनमा अन्तरिक्ष यात्रीहरूले चन्द्र कक्षामा अभ्यास गर्ने योजना रहेको छ, जहाँ ब्लयु वरिजिन र स्पेसएक्सले विकास गरिरहेका ल्यान्डरहरूसँग डकिङ अभ्यास गरिनेछ।
नासाले सन् २०२७ को मध्यतिर आर्टेमिस–३ मिसन सञ्चालन गर्ने लक्ष्य राखेको छ भने सन् २०२८ सम्ममा चन्द्रमामा मानव अवतरण गराउने योजना अघि बढाएको छ। त्यसपछि सन् २०२९ देखि २०३० को बीचमा चन्द्र आधारको दोस्रो चरण सुरु हुनेछ, जसअन्तर्गत पावर ग्रिडसहित प्रारम्भिक स्थायी पूर्वाधार निर्माण गरिनेछ।
सन् २०३० को दशकमा तेस्रो चरणमा प्रवेश गर्दै दीर्घकालीन बसोबासका लागि आवास संरचना तयार गर्ने लक्ष्य नासाले लिएको छ।
नासाको चन्द्र आधार कार्यक्रमका कार्यकारी कार्लोस गार्सिया–गालानले भविष्यको चन्द्र संरचना सयौँ वर्गमाइल क्षेत्रमा फैलिने र ड्रोनमार्फत त्यसको सीमाना निर्धारण गरिने जानकारी दिए। ती ड्रोनलाई ‘मुनफल’ नाम दिइएको छ।
नासाका प्रशासक जारेड आइज्याकम्यानले चन्द्र आधार केवल अनुसन्धानका लागि मात्रै नभई भविष्यको मङ्गल अभियान, वैज्ञानिक खोज र चन्द्र अर्थतन्त्र विकासका लागि पनि अत्यन्त महत्त्वपूर्ण हुने बताए।
उनले भने, “धैर्यपूर्वक प्रतीक्षा गरिरहेकाहरूका लागि यो भव्य पुनरागमन हो। हामी अब सुस्त हुने छैनौँ, किनकि हामी त अहिले मात्रै सुरु गर्दैछौँ।”



तपाईको प्रतिक्रिया दिनुहोस