Techie IT
२०८३ श्रावण ११, सोमबार

इन्स्टाग्राममा मोदीको नयाँ विश्व कीर्तिमान: २४ घण्टामै रिलमा आयो ३० करोड भ्युज


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। विद्यार्थीहरूलाई लक्षित गरी जारी गरिएको उनको एक भिडियो सन्देशले २४ घण्टामै ३० करोड ३० लाख (३०३ मिलियन) भन्दा बढी 'भ्युज' पाएसँगै विश्वकै सबैभन्दा धेरै हेरिएको 'इन्स्टाग्राम रिल'को रेकर्ड बनाएको हो।

यसअघि यो कीर्तिमान अमेरिकी स्ट्रिमर 'आईशोस्पीड'को नाममा थियो। उनले चर्चित सांगीतिक समूह 'बीटीएस'का सदस्यहरूसँगको भिडियोमार्फत २४ घण्टामा ३०० मिलियन भ्युजको रेकर्ड बनाएका थिए। जुलाई २३ को मध्यरातमा सार्वजनिक गरिएको मोदीको भिडियोले उक्त रेकर्ड तोडेको हो। खबर लेखिँदासम्म यो भिडियोको भ्युज ३४ करोड ५० लाख (३४५ मिलियन) नाघिसकेको छ।

भिडियो भाइरल भएसँगै प्रधानमन्त्री मोदीको फलोअर्स संख्यामा समेत भारी वृद्धि भएको छ। एकै रातमा करिब १० लाख नयाँ फलोअर्स थपिएपछि उनको कुल फलोअर्स संख्या १० करोड ३० लाख (१०३ मिलियन) पुगेको छ।

के थियो भिडियोमा?
परीक्षामा हुने धाँधली र प्रश्नपत्र चुहावट (पेपर लीक) विरुद्ध भइरहेको 'सीजेपी' (CJP) आन्दोलनको सन्दर्भमा प्रधानमन्त्री मोदीले यो सन्देश जारी गरेका थिए। भिडियोमा उनले भनेका छन्, "साथीहरू, मलाई थाहा छ प्रश्नपत्र चुहावट सामान्य कुरा होइन। यसले लाखौँ विद्यार्थी र उनीहरूका अभिभावकलाई ठूलो पीडा दिन्छ। त्यसैले विगत साढे दुई महिनामा यसविरुद्ध कडा कदम चालिएका छन् र दोषीहरूलाई पक्राउ गरी जेल पठाइएको छ।"

युवा पुस्ताको फरक प्रतिक्रिया
भिडियो कीर्तिमानी रूपमा भाइरल भएपछि सामाजिक सञ्जालमा अर्को एउटा रोचक ट्रेन्ड सुरु भएको छ। विशेष गरी युवा पुस्ता (जेन-जी) ले प्रधानमन्त्रीको गम्भीर भिडियोलाई चुलबुले र मायालु अडियो ट्र्याकहरूसँग जोडेर 'कुचु पुचु' र 'पुकी पीएम' जस्ता ट्रेन्डहरू चलाएका छन्। कतिपय प्रयोगकर्ताहरूले मोदीले इन्स्टाग्रामको अल्गोरिदम नै परिवर्तन गरिदिएको र उनको यो नयाँ अन्दाजले युवाहरूलाई आकर्षित गरेको टिप्पणी गरेका छन्।

आफ्नो भिडियोप्रति युवाहरूको यस्तो अभूतपूर्व प्रतिक्रिया देखेपछि प्रधानमन्त्री मोदीले जुलाई २४ मा अर्को भिडियो सन्देशमार्फत सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले युवाहरूले दिएका रचनात्मक सुझावहरूका लागि आभार प्रकट गर्दै नयाँ पुस्तासँग जोडिन पाउँदा खुसी व्यक्त गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट