Techie IT
२०८३ कार्तिक १, शनिबार

मंगल ग्रहको माटोको पहिलो विस्तृत नक्सा तयार


अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली र विश्वव्यापी नक्सा तयार पारेका छन्। यस ऐतिहासिक खोजले भविष्यमा रातो ग्रहमा हुने अन्तरिक्ष अन्वेषण, मानव बस्ती निर्माण तथा नियन्त्रित वातावरणमा खाद्य उत्पादनका लागि सम्भावित स्थानहरू पहिचान गर्न ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सिड्नी विश्वविद्यालयका विद्यावारिधि अनुसन्धानकर्ता ड्यानियल इर्भिङको नेतृत्वमा भएको सो अध्ययनअनुसार मंगल ग्रहका करिब ८० करोड स्थानहरूलाई वर्गीकरण गर्दै माटोका दुई हजार प्रकार पहिचान गरिएको छ। माटोको बनावट, खनिज संरचना, अम्लीय वा क्षारीय अवस्था (pH) र तहको मोटाइका आधारमा यसलाई १० प्रमुख समूह, १०० उपसमूह र २,००० विस्तृत प्रकारमा विभाजन गरिएको हो। अन्तर्राष्ट्रिय जर्नल ‘क्याटेना’ मा प्रकाशित यस अध्ययनले मंगल ग्रहको माटोका वर्गलाई ग्रिक देवता 'एरेस' को नामबाट ‘एरेथ्स’ (Areths) नाम दिएको छ।

अध्ययनका क्रममा बिरुवा उत्पादनका लागि उपयोगी माटोको मूल्याङ्कन गर्दा ‘नोहिबारेथ’ (Nohibareth) नामक माटोको प्रकार सबैभन्दा बढी सम्भावनायुक्त (०.९३ अङ्क) देखिएको छ। यद्यपि, अनुसन्धानकर्ताहरूले यसको अर्थ मंगल ग्रहको माटोमा सिधै बाली उब्जाउन सकिन्छ भन्ने नभएको स्पष्ट पारेका छन्। भविष्यमा खेतीका लागि नियन्त्रित वातावरण, पानी, आवश्यक पोषक तत्त्व तथा हानिकारक पदार्थ (जस्तै पर्क्लोरेट) को व्यवस्थापन अनिवार्य हुनेछ।

पृथ्वीमा सोही प्रकारको माटोको सम्मिश्रण बनाएर प्रयोगशालामा थप परीक्षण गर्न सकिने र भविष्यका रोभर मिसन तथा नमुना सङ्कलनले यस वैज्ञानिक मोडेललाई अझ परिपक्व बनाउने अनुसन्धान टोलीको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट