अन्तरिक्ष विज्ञानमा नयाँ क्रान्ति, चन्द्रमाको माटोले खोल्नेछ करोडौँ वर्ष पुराना तारा विस्फोटका रहस्य
युनिभर्सिटी अफ हवाई एट मानोआकी अनुसन्धानकर्ता डा. एमिली कोस्टेलो र उनको टोलीले चन्द्रमाको सतहमा अवस्थित माटोलाई ‘ब्रह्माण्डीय टाइम क्याप्सुल’ (Cosmic Time Capsule) का रूपमा प्रयोग गर्दै इतिहास फुकाउने गणितीय मोडेल तयार पारेका छन्।
पृथ्वीका समुद्रमुनि १० लाख वर्षसम्मको अन्तरिक्ष अवशेष मात्र सुरक्षित रहन सक्ने भए पनि चन्द्रमाको माटोले ८ देखि १० करोड वर्ष वा सोभन्दा अघिको ग्यालेक्टिक इतिहास सुरक्षित राख्न सक्छ। उल्कापिण्ड र एस्टेरोइडहरूको निरन्तर प्रहारका कारण चन्द्रमाको माटो उलटपुलट भइरहने प्रक्रिया (‘इम्प्याक्ट गार्डेनिङ’) लाई यस मोडेलमार्फत वैज्ञानिकहरूले व्यवस्थित रूपमा विश्लेषण गरेका छन्। एपोलो (Apollo) मिसनले ल्याएका नमुनाहरू र पृथ्वीका समुद्रमुनि भेटिएका रेडियोधर्मी आइसोटोपका आधारमा सुपरनोभा विस्फोटबाट आएका फलाम, प्लुटोनियम, आयोडिन, हाफ्नियम जस्ता भारी तत्त्वहरू कसरी पुरिएका छन् भन्ने कुरा यस मोडेलले सही रूपमा प्रक्षेपण गरेको छ। यसले भविष्यमा चन्द्रमाबाट ल्याइने गहिरा नमुनाहरू (Core Samples) लाई सही तरिकाले पढी सौर्यमण्डलको ऐतिहासिक यात्रा पुनर्गठन गर्न मद्दत पुर्याउनेछ।
मानिसको कपालजत्रो धूलोको कणबाट नयाँ खोज
अर्कोतर्फ, मियोरिटिक्स एन्ड प्लानेटरी साइन्स (Meteoritics & Planetary Science) मा प्रकाशित युनिभर्सिटी अफ सिकागो र फिल्ड म्युजियमकी अनुसन्धानकर्ता जेनिका ग्रियर तथा सह-प्राध्यापक फिलिप हेकको अध्ययनले चन्द्रमाको माटो अध्ययनमा नयाँ क्रान्ति ल्याएको छ।
सन् १९७२ को 'अपोलो १७' मिसनपछि मानिस चन्द्रमामा फर्केको छैन । यसले गर्दा सङ्कलित नमुनाहरू निकै बहुमूल्य छन्। ग्रियरको टोलीले मानिसको कपालको चौडाइजत्रो माटोको एउटै कणलाई परमाणु तहमा (Atom by Atom) अध्ययन गर्न ‘एटम प्रोब टोमोग्राफी’ (Atom Probe Tomography) प्रविधि प्रयोग गरेको छ। यस प्रविधिलाई ‘न्यानो-कार्पेन्ट्री’ (Nanocarpentry) पनि भनिन्छ।
यस अध्ययनबाट वैज्ञानिकहरूले चन्द्रमाको धूलोको सानो कणभित्र अन्तरिक्षीय मौसमीकरण (Space Weathering) को असर, शुद्ध फलाम (Pure Iron), पानी (Water) र हिलियम (Helium) जस्ता अत्यावश्यक ग्यास र खनिजहरू पहिचान गरेका छन्।
चन्द्रमामा वायुमण्डल नभएका कारण सूर्यका हानिकारक किरणहरू, विकीरण र उल्कापिण्डका कणहरूले त्यहाँको माटोलाई भित्री चट्टानभन्दा बिल्कुलै भिन्न बनाउँछन् (जसलाई आइसक्रिम कोनमाथि पगालेको चकलेटको लेयरसँग तुलना गरिएको छ)। चन्द्रमाको माटोबाट पानी र हिलियम जस्ता स्रोतहरू निकाल्न सकिएमा भविष्यमा त्यहाँ पुग्ने अन्तरिक्ष यात्रीहरूलाई लामो समयसम्म टिकिरहन र स्रोतहरू प्रयोग गर्न ठूलो मद्दत मिल्नेछ।
वैज्ञानिकहरूका अनुसार यो प्रविधिले नमुनाको नगण्य अंश मात्र खर्च गर्ने हुनाले बाँकी नमुना भविष्यका नयाँ प्रविधि र नयाँ पुस्ताका वैज्ञानिकहरूका लागि सुरक्षित रहन्छ। साथै, Hayabusa2 र OSIRIS-REx जस्ता मिसनहरूले क्षुद्रग्रह (Asteroids) बाट ल्याउने नमुनाहरूको विश्लेषण गर्न पनि यो विधि कोशेढुङ्गा साबित हुने विश्वास लिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस