विश्वराजनीति र सैन्य रणनीतिको केन्द्रमा मस्कको स्टारलिंक
विश्वका धनी व्यक्ति एलन मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालित स्याटेलाइट इन्टरनेट सेवा ‘स्टारलिंक’ पछिल्लो समय विश्वराजनीति, कूटनीति र सैन्य रणनीतिको एक अति संवेदनशील हिस्सा बन्दै गएको छ।
रोयटर्सको एक विशेष रिपोर्टअनुसार, अमेरिकाका दुवै प्रशासन (जो बाइडेन र डोनाल्ड ट्रम्प) ले विभिन्न समयमा इरानदेखि युक्रेनसम्म स्टारलिंकको सेवा उपलब्ध गराउन वा पहुँच नियन्त्रण गर्न स्पेसएक्ससँग पटकपटक गोप्य समन्वय गरेका छन्। यस घटनाले निजी प्रविधि कम्पनीहरूले कुनै देशको राष्ट्रिय सुरक्षा र विदेश नीतिमा पार्न सक्ने प्रभावबारे गम्भीर प्रश्नहरू खडा गरेको छ।
यमन र लेबनानमाथि कडा निगरानी र पहुँच बन्द
पूर्वअमेरिकी अधिकारीहरूले खुलाए अनुसार, बाइडेन प्रशासनले यमनका हुथी विद्रोही र लेबनानको हिजबुल्लाह समूहले बिचौलियामार्फत स्टारलिंकका टर्मिनलहरू प्रयोग गरिरहेको गुप्तचर सूचना पाएको थियो। अक्टोबर २०२३ मा इजरायल-हिजबुल्लाह द्वन्द्व चर्किएका बेला तथा सन् २०२४ मा हुथीविरुद्ध अमेरिकी सैन्य अभियान चलिरहँदा ह्वाइट हाउसले स्पेसएक्सलाई त्यस्ता अवैध टर्मिनलहरू पहिचान गरी तत्काल सेवा बन्द गर्न आग्रह गरेको थियो। सोही आधारमा केही निश्चित स्थानमा स्टारलिंक सेवा निष्कृय पारिएको थियो।
इरानमा सरकारविरोधी प्रदर्शनकारी र युक्रेनमा सैन्य सञ्चारको आधार
इरानमा सेप्टेम्बर २०२२ मा महसा अमिनीको मृत्युपछि उठेको आन्दोलन दबाउन सरकारले सञ्चारमा अवरोध सिर्जना गर्दा बाइडेन प्रशासनको सहयोगमा इरानभित्र स्टारलिंक उपकरण पुर्याइएको थियो। त्यसैगरी, सन् २०२५ जुन र २०२६ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि ट्रम्प प्रशासनले पनि प्रदर्शनकारीलाई सञ्चार सुविधा दिन स्टारलिंक सक्रिय बनाउन स्पेसएक्ससँग छलफल गरेको थियो। ‘वाल स्ट्रिट जर्नल’का अनुसार अमेरिकी सरकारले हजारौँ टर्मिनलहरू इरान पठाएको थियो।
यता, युक्रेनमाथि रुसको पूर्णस्तरको आक्रमण सुरु भएपछि युक्रेनी सेनाका लागि मोर्चामा सञ्चारको मुख्य आधार नै स्टारलिंक बनेको छ। ड्रोन सञ्चालन, क्षेप्यास्त्र आक्रमणबाट बचाउ र सैन्य इकाइबीचको सम्पर्कका लागि यो सेवा जीवनदान बनेको छ। यद्यपि, हालै युक्रेनको सैन्य संस्करण ‘स्टारसिल्ड’ को गति र पहुँचमा अमेरिकी ह्वाइट हाउसको आदेशमा सीमा लगाइएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्। मस्कले भने स्टारसिल्ड प्रणाली अमेरिकी सरकारको नियन्त्रणमा रहेको र त्यसमा लगाइने सीमाहरू अमेरिकी सेना तथा राष्ट्रबाटै निर्धारित हुने स्पष्ट पारेका छन्।
निजी कम्पनीको हातमा भूराजनीतिक निर्णयको अधिकार?
विगतमा सन् २०२२ मा मस्कले युक्रेनलाई क्रिमियाली बन्दरगाह क्षेत्रमा आक्रमण गर्न स्टारलिंक प्रयोग गर्न नदिएको घटना होस् वा हालैका निर्णयहरू, यसले विश्वभर ठूलो बहस सिर्जना गरेको छ। अमेरिकी प्रतिनिधि सभाका सदस्य जेसन क्रोले “निर्वाचित नभएका अर्बपतिहरू र निजी कर्पोरेसनहरूले अमेरिकाको राष्ट्रिय सुरक्षा हित के हो भनेर निर्णय गर्न नहुने” भन्दै यसमा स्पष्टता र कानुनी नियमन आवश्यक रहेको औंल्याएका छन्।
विशेषज्ञहरूका अनुसार कुनै एक व्यक्तिको निजी इच्छा वा संस्थागत निर्णयले विश्वव्यापी युद्ध र शान्तिको दिशा प्रभावित हुनु आधुनिक अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ र गम्भीर चुनौती बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस