कृष्णभीरमा सडक भासिएपछि उपत्यकामा ग्यास अभाव टार्न यस्तो छ वैकल्पिक व्यवस्था
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन सक्ने खाना पकाउने एलपीजी ग्यासको सम्भावित अभाव टार्न उद्योगीहरूले उपत्यकाबाहिरबाटै सिलिन्डर भरेर ढुवानी गर्न थालेका छन्।
नेपाल आयल निगमले उपत्यकाबाहिर ‘बोटलिङ’ गरी सिलिन्डर ल्याउन अनुमति दिएसँगै ग्यास उद्योगीहरूले आपूर्ति सहज बनाउने प्रयास तीव्र पारेका छन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीहरूले मकवानपुरका ट्रक व्यवसायीसँगको छलफलपछि ढुवानी प्रक्रिया अगाडि बढाएका छन्। सङ्घका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार उपत्यकाबाहिरका उद्योगमा खाली सिलिन्डरको सङ्ख्या कम भएकाले काठमाडौँबाट खाली सिलिन्डर ट्रकमा लगेर बाहिर भरेपछि पुनः उपत्यका फर्काउने प्रबन्ध मिलाइएको छ।
यसैक्रममा, उपत्यकामा दैनिक ११ हजार सिलिन्डर बिक्री गर्दै आएको नेपाल ग्यासले आफ्नो सिलिन्डर चितवनस्थित 'नेपाल ग्यास गण्डकी' प्लान्टमा भर्दै आएको छ भने उसले केही दिनभित्रै दैनिक ८ देखि १० हजार सिलिन्डर काठमाडौँ भित्र्याउने तयारी गरेको छ।
तर, रातिको समयमा कान्ति लोकपथमा सवारीसाधन सञ्चालनमा रोक लगाइएका कारण खाली सिलिन्डर बोकेर फर्किने ट्रकहरूलाई केही ढिलाइ भइरहेको सङ्घका सदस्य विमल कालाखेतीले बताएका छन्। हाल विभिन्न कम्पनीहरूले परासी, हेटौँडा र गैँडाकोटलगायतका प्लान्टबाट ग्यास भरेर त्रिभुवन राजपथमार्फत काठमाडौँ पठाउन थालेका छन्। उपत्यका र आसपासको क्षेत्रमा कुल १६ वटा ग्यास उद्योग सञ्चालित रहेका छन्।
नेपालका ५८ वटा ग्यास उद्योगबाट उत्पादित कुल ग्यासमध्ये ४० प्रतिशत उपत्यकामा खपत हुने गर्छ। सामान्य अवस्थामा काठमाडौँमा दैनिक ४० हजार सिलिन्डर खपत हुने भए पनि यस्तो विषम परिस्थितिमा माग १ लाखसम्म पुग्न सक्ने सङ्घका अध्यक्ष दिवान चन्दले बताए।
“हामीले सङ्गठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकाले केही दिनभित्रै आपूर्ति पूर्ण रूपमा सहज हुनेछ,” उनले भने, “उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सिलिन्डर खरिद गरी मौज्दात नराख्न अनुरोध छ।” गत महिना भारतबाट हालसम्मकै उच्च अर्थात् ६० हजार २०० मेट्रिकटन ग्यास आयात भएकाले बजारमा ग्यासको वास्तविक अभाव नहुने सङ्घले स्पष्ट पारेको छ।
यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पनि आफ्ना ‘एसटीसी सिलिन्डर’ मा ग्यास आपूर्ति सहज बनाउन निजी ग्यास कम्पनीहरूसँग सहकार्य सुरु गरेको छ। धादिङको जुगेखोलास्थित कर्पोरेशनको एलपीजी प्लान्टतर्फ जाने सडक अवरुद्ध भएपछि निजी क्षेत्रका बाबा र मनोज ग्यासका प्लान्टमा एसटीसी सिलिन्डर भरेर काठमाडौँ ल्याउने प्रबन्ध मिलाइएको हो।
नेपाल आयल निगमले कूल ३ हजार २५ वटा ग्यास बुलेटको कोटामा साल्ट ट्रेडिङलाई २ प्रतिशत अर्थात् ५३ वटा बुलेट मात्र उपलब्ध गराउँदै आएको छ। कर्पोरेशनले हाल उपत्यकामा कुपन प्रणालीमार्फत ग्यासको बिक्री वितरण गर्दै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस