कालीगण्डकीको उर्लंदै गरेको भेलमा दाउरा संकलनमा तँछाडमछाड
तीन दिनदेखि भइरहेको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेको छ। नदीले ढुङ्गा, मुढा र दाउरा बगाएर ल्याएपछि पर्वतको मालढुङ्गास्थित माझी बस्तीका स्थानीयहरू ज्यानको बाजी राखेर दाउरा संकलन गर्न नदी किनारमा पुगेका छन्।
नदीको बहाव अति तीव्र र खतरनाक भए पनि स्थानीयले जोखिमको कुनै पर्वाह नगरी शनिबार बिहानैदेखि किनारबाट दाउरा तथा मुढा निकालिरहेका छन्। उनीहरू लौरोमा अंकुशे बनाएर नदीबाट मुढा निकाल्न तँछाडमछाड गरिरहेका देखिन्छन्। संकलन गरिएका दाउरा र मुढा उनीहरूले बागलुङ–पर्वत जोड्ने कालीगण्डकी पुल छेउ तथा माझी बस्तीको आडमा थुपार्ने गरेका छन्। दाउरा संकलनका क्रममा स्थानीयबीच मुढा खोसाखोसलाई लिएर विवादसमेत हुने गरेको छ।
बाढीको उच्च जोखिमलाई मध्यनजर गर्दै प्रहरीले पटक-पटक सिट्ठी बजाएर र माइकिङ गरेर स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरे पनि उनीहरूले प्रहरीको चेतावनीलाई पूर्ण रूपमा बेवास्ता गरेका छन्।
कालीगण्डकीको बहाव बढेर बस्ती नजिकै पुगिसक्दा पनि स्थानीयमा भने कुनै त्रास वा चिन्ता देखिँदैन। आफूहरू वर्षौंदेखि नदी किनारमा बस्दै आएको र अहिलेसम्म बस्तीमा पानी नपसेको उनीहरूको तर्क छ। पछिल्लो समय कालीगण्डकीमा आएको बाढीले नदी आसपासका बस्तीहरूमा ठूलो खतरा निम्त्याएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस