चाडपर्वमा जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर भरी लिन पाइने
दसैँ–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा काठमाडौँ उपत्यकामा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न नयाँ अभ्यासको तयारी थालिएको छ। चाडबाडका बेला आफूसँग भएको कम्पनीको ग्यास पाउन मुस्किल पर्ने समस्यालाई मध्यनजर गर्दै, जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर अर्को ब्रान्डको भरी सिलिन्डर लिन पाइने व्यवस्था गर्ने विषयमा छलफल अगाडि बढेको छ।
नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच यो गृहकार्य अगाडि बढेको हो। यद्यपि यो व्यवस्था औपचारिक रूपमा लागू भने भइसकेको छैन। डिलरहरू र उद्योगीहरूबीचको छलफलपछि यसको अन्तिम मोडालिटी तय हुनेछ।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार डिलरहरूको नियमित पसलमा भन्दा पनि काठमाडौँ उपत्यकाका विभिन्न चार–पाँच वा आठ–दस स्थानमा छुट्टै साझा बिक्री केन्द्र (आउटलेट) खोलेर यो सेवा दिने योजना बनाइएको छ। यसबाट उपभोक्ताले आफ्नो भएको जुनसुकै सिलिन्डर त्यहाँ छोडेर उपलब्ध ग्यास लैजान पाउनेछन्।
अर्को ब्रान्डको सिलिन्डर साट्दा डिलरहरूले लिने गरेको अतिरिक्त शुल्क यो व्यवस्थामा नलाग्ने गरी उपभोक्तामाथि थप आर्थिक भार नपर्ने संयन्त्र बनाउने संघले स्पष्ट पारेको छ।
प्रारम्भिक चरणमा काठमाडौँ उपत्यकामा बढी बजार हिस्सा भएका ग्यास उद्योगहरूलाई यो अभियानमा समेट्न छलफल भएको छ। जसमा नेपाल ग्यास, एचपी ग्यास, बाबा ग्यास, श्री ग्यास, सगर ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास, साईबाबा ग्यास र सिद्धार्थ ग्यास (साझा निर्णयपछि समेटिन सक्ने) रहेका छन्। यी कम्पनीका सिलिन्डर तोकिएको आउटलेटमा साट्न मिल्ने गरी संयन्त्र बन्दैछ।
किन ल्याइँदैछ यो योजना?
देशका अन्य भागमा ग्यास आपूर्ति सहज भइसके पनि पछिल्लो समय परेको अविरल वर्षा, बाढीपहिरोले सडक अवरुद्ध हुनु र सार्वजनिक बिदाका कारण काठमाडौँ उपत्यकामा मात्र ग्यासको आपूर्ति केही प्रभावित भएको थियो। चाडपर्वको बेला उपभोक्ताले सामान्य कारणले पनि सास्ती भोग्नु नपरोस् भन्नका लागि यो उपत्यका केन्द्रित योजना तुरुन्त (दसैँभरका लागि) लागू गर्ने प्रयास भइरहेको छ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले उद्योगीहरूको ठोस प्रस्ताव आएपछि यसलाई औपचारिक रूपमा कार्यान्वयनमा ल्याइने जानकारी दिएका छन्। डिलर र उद्योगीबीच बस्ने बैठकले सहमति जुटाएपछि आउटलेट रहने स्थान र वितरण मितिको अन्तिम टुंगो लाग्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस