Techie IT
२०८३ श्रावण ३०, शनिबार

स्ट्रेट अफ होर्मुजलाई चाँडै अमेरिकी भूभागको रूपमा घोषणा गर्ने ट्रम्प चेतावनी


संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘पूर्ण रूपमा पराजित’ गरेसँगै महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ लाई चाँडै अमेरिकी भूभागको रूपमा घोषणा गर्ने चेतावनी दिएका छन्।  

मध्यपूर्वमा युद्ध सुरु भएयता तेहरानले प्रभावकारी रूपमा बन्द गरेको यो ऊर्जा ढुवानी मार्गमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको ट्रम्पले दाबी गर्दै आएका छन्। यद्यपि, इरानले भने उक्त दाबीलाई ठाडै अस्वीकार गर्दै आएको छ।  न्युयोर्क राज्यको एक प्रहरी एकेडेमीमा आयोजित राजनीतिक सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले मुस्कुराउँदै भने, ‘इरानलाई पूर्ण रूपमा पराजित गरिसकेपछि म चाँडै नै स्ट्रेट अफ होर्मुजलाई संयुक्त राज्य अमेरिकाको भूभाग घोषणा गर्नेछु। यो सत्य हो।’  वाल स्ट्रिट जर्नलका अनुसार ह्वाइट हाउसका एक अधिकारीले भने ट्रम्पको यो टिप्पणीलाई ठट्टाका रूपमा लिइएको स्पष्ट पारेका छन्।  

इरानी उपविदेशमन्त्री काजेम घरिबाबादीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत ट्रम्पको भनाइको कडा शब्दमा जवाफ दिँदै भन्नुभएको छ, ‘स्ट्रेट अफ होर्मुज इरानी थियो, इरानी हो र इरानी नै रहनेछ।’ साथै, यो जलमार्ग कसैको ट्विट, विमानवाहक युद्धपोत वा निर्वाचन भाषणका भरमा कब्जा गर्न नसकिने बताउँदै यो इरानको निर्णयअनुसार मात्र बन्द वा खुल्ने दाबी उहाँले दोहोर्याएका छन् ।  

गत फेब्रुअरी २८ देखि इजरायलसँग मिलेर अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता दुई देशबीच गहिरो द्वन्द्व जारी छ। यसको जवाफमा तेहरानले स्ट्रेट अफ होर्मुजको अधिकांश क्षेत्रमा व्यावहारिक नियन्त्रण कायम गर्दै नागरिक जहाजको आवागमनमा रोक लगाएको छ। उता अमेरिकी नौसेनाले पनि इरानमाथि दबाब बढाउन जलमार्गमा नाकाबन्दी कडा पारेको छ।  

समर्थक र सुरक्षाकर्मीहरूको भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘हामीले नाकाबन्दी गरेका छौँ। हाम्रो इच्छाबिना कुनै पनि जहाज त्यहाँबाट पार हुन सक्दैन।’  विश्वको कुल ऊर्जा आपूर्तिको २० प्रतिशत हिस्सा ओगट्ने यो सामरिक महत्त्वको ‘स्ट्रेट अफ होर्मुज’ मार्गलाई लिएर अमेरिका र इरानबीचको तिक्तता झन् गहिरिँदै गएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट