Techie IT
२०८३ भाद्र १८, बिहीबार

होर्मुज स्ट्रेटको नाम ‘ट्रम्प स्ट्रेट’ राख्न ट्रम्पको सुझाव


इरानसँग बढ्दो भूराजनीतिक तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज स्ट्रेट (जलघाँटी) को नाम परिवर्तन गरेर आफ्नो नामबाट राख्ने सुझाव दिएका छन्।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत विचार व्यक्त गर्दै लेखेका छन्, “अब यो अमेरिकाको नियन्त्रणमा रहेकाले होर्मुज स्ट्रेटको नाम परिवर्तन गरेर ‘ट्रम्प स्ट्रेट’ राख्ने हो कि ? अमेरिकाजस्तै यो पनि पहिलेभन्दा बढी शक्तिशाली हुनेछ।”

बुधबार साउदी अरबको एक शिपिङ कम्पनीले होर्मुज स्ट्रेटमा साउदी तेल ट्यांकरमाथि भएको आक्रमणमा फिलिपिन्सका दुई नाविकको मृत्यु भएको जानकारी दिएको छ। ग्रीक समुद्री जोखिम व्यवस्थापन कम्पनी ‘मारिसाक्स’का अनुसार मंगलबार बिहान सोही क्षेत्रमा अज्ञात विमानले दुईवटा तेल ट्यांकरलाई निशाना बनाएका थिए।

यसैबीच, बीबीसी फारसीसँग कुरा गर्दै अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले फक्स न्युजमार्फत सबैलाई इरानबाट टाढा रहन चेतावनी दिएका छन्। उनले द्वन्द्व अन्त्य गर्ने सबैभन्दा छिटो उपाय इरानी शासनलाई कुनै पनि किसिमको समर्थन नदिनु रहेको बताएका छन्।

उता, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकाले अब इरानको ‘नयाँ रणनीति’ को सामना गर्नुपर्ने कडा चेतावनी दिएका छन्। उनले युद्धभूमि, कूटनीति र आर्थिक नाकाबन्दीका मोर्चामा इरानको नयाँ रणनीतिले अमेरिकी आधार नै ध्वस्त पार्ने दाबी गरेका छन्।

मंगलबार राति अमेरिकी सेनाले इरानको पश्चिम, दक्षिणपश्चिम, दक्षिण क्षेत्रका तटीय प्रान्तहरू र होर्मुज स्ट्रेटको पूर्वी भागमा भीषण आक्रमण गरेको थियो। इरानी अधिकारीहरूका अनुसार होर्मुजको कोहस्ताक सहरमा भएको आक्रमणमा एक विवाह समारोहमा सहभागी चार जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन्। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले उक्त अमेरिकी कारबाहीलाई ‘युद्ध अपराध’ को संज्ञा दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट