Techie IT
२०८३ भाद्र १८, बिहीबार

भोटेकोशी बाढीपीडित टुहुरा बालबालिकाको जिम्मा बागमती सरकारले लिने


बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढीपहिरोका कारण आमाबुबा गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्यको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने घोषणा गरेका छन्।

रसुवामा बाढीपहिरोबाट भएको अपूरणीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उनले विपद्बाट प्रभावित परिवारलाई प्रदेश सरकारले औपचारिक प्रशासनिक दायित्वभन्दा माथि उठेर परिवारकै रूपमा साथ दिने दृढ प्रतिबद्धता जनाएका हुन्।

मुख्यमन्त्री थापा मगरले टुहुरा बनेका बालबालिकाको भविष्य अन्धकार हुन नदिने स्पष्ट पार्दै उनीहरूको लालनपालन र शिक्षादीक्षाको पूर्ण सुरक्षा गर्ने बताए। उनले भने, “बाढीपहिरोमा आमाबुबा गुमाएका बालबालिकाको भविष्य अन्धकार हुन दिँदैनौँ। उहाँहरूको शिक्षा, सपना र भविष्यको जिम्मेवारी बागमती प्रदेश सरकारले लिनेछ।”

विपद्को यो पीडादायी घडीमा रसुवावासीलाई ढाडस दिँदै मुख्यमन्त्री थापा मगरले सरकारले केवल राहत बाँड्ने औपचारिकता मात्र पूरा नगर्ने बताए। उनले थपे, “दुःखको घडीमा हामी सरकार मात्र बनेर होइन, पीडितको परिवार बनेर साथ दिनेछौँ।”

साथै, रसुवाको बाढीपहिरोबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत वितरण र दीर्घकालीन पुनर्स्थापनाका लागि सरकारले कुनै पनि कसर नराखी आवश्यक सम्पूर्ण सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट