भारी वर्षाको खतरा: काभ्रेपलाञ्चोकका जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता
सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रहसहित सचेतना अभियान तीव्र पारिएको छ।
जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेडक्वाटर र नेपाल प्रहरीले मंगलबारदेखि दोलालघाट, रोशी खोला आसपास, र भकुण्डेबेँसीलगायतका जोखिमपूर्ण क्षेत्रहरूमा पुगी विद्यालय तथा सार्वजनिक स्थलहरूमा माइकिङ तथा विशेष सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्।
मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि हरसमय तयारी अवस्थामा रहन काभ्रेपलाञ्चोकस्थित जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका सबै स्थानीय तह र सुरक्षा निकायलाई कूटनीतिक निर्देशन जारी गरेको छ। यसका साथै स्थानीय विपद् व्यवस्थापन समितिहरूको हालको तयारी र अवस्थाबारे जानकारी गराउन पनि भनिएको छ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार यही असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुने मौसम पूर्वानुमान सार्वजनिक भएकाले सबै स्थानीय तह र सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको हो। “विपद्को जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहहरूलाई पनि पूर्वतयारीका लागि पत्राचार गरिएको छ,” प्रजिअ अधिकारीले भने।
जिल्लामा रहेका सुरक्षा निकायले भने विपद्को समयमा प्रभावकारी उद्धार कार्य गर्न आफूसँग भएको जनशक्ति परिचालनका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराइदिन सम्बन्धित निकाय र १३ वटै स्थानीय तहहरूसँग जोडदार अनुरोध गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस