मादी खोलामा आकस्मिक बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह
पछिल्लो एकदेखि तीन घण्टाको अवधिमा तनहुँको स्याम्घा, लमजुङको खुन्छा र त्यस आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज शनिबार बेलुका ५:३० बजे जारी गरेको विशेष अपडेटमा यो जानकारी दिएको हो।
सम्बन्धित क्षेत्रमा अझै केही समय वर्षा जारी रहने सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ। लगातारको वर्षाका कारण मादी लगायत यस क्षेत्र भएर बहने अन्य साना तथा ठूला खोलाहरूमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने र बाढीको जोखिम उच्च रहेको देखिएको छ।
मादी खोला र आसपासका नदी तटीय क्षेत्र तथा बाढीको उच्च जोखिममा रहेका बस्तीहरूमा बसोबास गर्ने सर्वसाधारणलाई सम्भावित बाढी र डुबानको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले अनुरोध गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस