बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा नेपाली सेना परिचालन
बुढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली परिचालन भएको छ।
आज बिहान करिब ४ः३० बजे गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोका कारण थुनिएको बुढीगण्डकी फुटेर लेदो तथा गेग्रानसहितको भीषण बाढी आएको थियो। बाढीले नदीको तटीय क्षेत्रमा क्षति पुर्याएको खबर प्राप्त हुनासाथ सेनाको उद्धार टोली खटाइएको हो।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढीपछि खोज तथा उद्धारका लागि सेनाको टोली हवाई र स्थलमार्ग दुवैतर्फबाट प्रभावित क्षेत्रमा परिचालन भएको छ। टोलीले सम्भावित अवरोधको अवस्था र प्रभावित स्थानको स्थलगत आकलन गर्नुका साथै पहिरोको उच्च जोखिममा रहेको जगत् गाउँबाट ६ जनाको हवाई साधनमार्फत सकुशल उद्धार गरेको छ।
काठमाडौँबाट पठाइएको सेनाको 'कम्पोजिट क्विक रेस्पोन्स टिम' (Composite Quick Response Team) समेत हवाईमार्गबाट सोही इलाकामा तैनाथ भइसकेको छ। टोलीले नदी तटीय तथा आसपासका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन आग्रह गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस