५११ अर्ब ब्यारेल तेल फेला! अन्टार्कटिकामा रुसी खोजले भूराजनीतिक हलचल
उक्त भण्डारले पछिल्लो ५० वर्षमा उत्तरी सागरमा उत्पादन भएको तेलभन्दा दशगुणा बढी तेल समेटेको तथा साउदी अरबको कुल तेल भण्डारभन्दा झन्डै दोब्बर रहेको जनाइएको छ ।

रुसी वैज्ञानिकहरूले अन्टार्कटिकाको जमेको सतह मुनि विश्वकै ठूलो तेल भण्डार फेला पारेको दाबी गरेका छन् । उनीहरूको अनुमान अनुसार वेडेल सागरको गहिराइमा करिब ५११ अर्ब ब्यारेल तेल रहेको छ ।
यस ‘कालो सुन’ को खोजले अन्टार्कटिकासम्बन्धी सन्धिहरू र भविष्यको ऊर्जा प्रतिस्पर्धा सम्बन्धमा गम्भीर बहस र प्रश्नहरू उठाइरहेको छ । विज्ञहरूका अनुसार रुसी दाबीले यस क्षेत्रको भूराजनीतिक सन्तुलनमा नयाँ हलचल ल्याउने सम्भावना देखिएको छ ।
न्यूजवीकका अनुसार रुसी अनुसन्धान टोलीले अन्टार्कटिकाको सतहमुनि फेला पारेको तेलको परिमाण हालसम्म विश्वभर पत्ता लागेका सबैभन्दा ठूलो ज्ञात तेल भण्डारभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ ।
उक्त भण्डारले पछिल्लो ५० वर्षमा उत्तरी सागरमा उत्पादन भएको तेलभन्दा दशगुणा बढी तेल समेटेको तथा साउदी अरबको कुल तेल भण्डारभन्दा झन्डै दोब्बर रहेको जनाइएको छ ।
वेडेल सागरस्थित यो क्षेत्रलाई बेलायतले आफ्नो क्षेत्रीय चासोको रूपमा दाबी गर्दै आएको छ । त्यस्तै, अर्जेन्टिना र चिलीले समेत यस क्षेत्रमा स्वामित्वको दाबी गर्दै आएका छन्। यद्यपि पछिल्ला वर्षहरूमा यस विषयमा स्पष्ट निर्णय नभए पनि, अब रुसको बढ्दो उपस्थितिले यस क्षेत्रको भूराजनीतिक जटिलता अझ गहिरिएको छ।
सन् १९५९ मा हस्ताक्षरित अन्टार्कटिका सन्धिले उक्त महाद्वीपलाई शान्तिपूर्ण वैज्ञानिक अनुसन्धानका लागि मात्रै प्रयोग गरिने व्यवस्था गरेको छ । यो सन्धिले सैन्य गतिविधि र स्रोतको शोषणमा रोक लगाउने प्रावधान समेटेको छ ।
तर रुसी खोजपछिको अवस्था हेर्दा, विज्ञहरू यसलाई सन्धिको उल्लङ्घनको रूपमा हेर्न थालेका छन् । अमेरिका, बेलायत लगायतका मुलुकहरूले सन्धिको प्रारूप तयार गर्दा अन्टार्कटिकालाई ‘आर्थिक लुट’बाट बचाउने उद्देश्य राखिएको थियो। तर, वैज्ञानिक अनुसन्धानको नाममा स्रोत शोषण हुन थालेको भन्दै चिन्ता बढेको छ।
रुसको पछिल्लो कदम युक्रेन युद्धका कारण पश्चिमी मुलुकहरूसँगको सम्बन्ध चिसिएको बेला आएको हो। विश्लेषकहरूका अनुसार रुसले अब अन्टार्कटिकालाई आफ्ना रणनीतिक हित र ऊर्जा सुरक्षाका लागि प्रयोग गर्ने संकेत देखाएको छ।
यसैबीच, चीनले पनि अन्टार्कटिकामा आफ्नो पाँचौं अनुसन्धान केन्द्र स्थापना गर्दै उपस्थितिलाई बलियो बनाउँदै गएको छ। बेइजिङ र मस्कोबीचको बढ्दो सहकार्य पश्चिमी शक्तिहरूका लागि चुनौती बन्न थालेको छ।
धेरै विश्लेषकहरू अनुमान गर्छन् कि रुस र चीनले अब अन्टार्कटिकामा सन्धिको दायराभित्र रहनुभन्दा बाहिर गएर, दशकौँदेखि कायम सीमाहरूलाई पुनः परिभाषित गर्न सक्ने सम्भावना बढेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस