Techie IT
२०८२ कार्तिक ८, शनिबार

क्यानबेरामा आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती भव्य रूपमा मनाइयो


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यानबेरा च्याप्टरको आयोजनामा तथा नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान क्यानबेराको सह–आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको अवसरमा विशेष साहित्यिक साँझ भव्य रूपमा सम्पन्न भएको छ ।

क्यानबेरास्थित The Chimney Restaurant, Gungahlin मा आयोजित उक्त कार्यक्रम साँझ ५:३० बजे सुरु भई ९:३० बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा करिब २० जना नेपाली साहित्यप्रेमीहरूले कविता, गीति प्रस्तुति, रचना वाचन तथा आफ्ना सिर्जनात्मक अभिव्यक्तिहरू मार्फत नेपाली भाषा, प्रवासी अनुभव, संस्कृतिप्रतिको माया र समसामयिक संवेदनालाई उजागर गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा अष्ट्रेलियास्थित नेपाली राजदूतावासकी महामहिम राजदूत चित्रलेखा यादवको उपस्थिति रहेको थियो । अनेसास क्यानबेराकी उपाध्यक्ष महत्ता घिमिरे चापागाईंले कार्यक्रमको सभापतित्व गरेकी थिइन् ।

कार्यक्रममा सिड्नीबाट आएका अतिथि कवि–लेखक जितेन्द्र मल्ल, सुरेन्द्र दवाडी र राहुल अर्यालले समेत आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए । विशेष गरी नयाँ पुस्ताबाट मानस्वी चापागाईंको प्रस्तुति दर्शकको मन छुने खालको रहेको थियो । उनले आफ्ना हजुरबुवा, कवि भवानी घिमिरेको कविता वाचन गरेर साहित्यमा पुस्तान्तरको सन्देश दिनुका साथै भावनात्मक वातावरण सिर्जना गरेकी थिइन् ।

सो अवसरमा अनेसास क्यानबेरा च्याप्टरको नयाँ ११ सदस्यीय कार्यसमितिको पनि घोषणा भएको छ । संस्थापक अध्यक्ष सकुन्तला देवकोटाले समितिको घोषणा गर्दै महत्ता घिमिरे चापागाईंको अध्यक्षतामा समिति सर्वसम्मत चयन भएको जानकारी दिइन् । अध्यक्ष घिमिरेले नयाँ कार्यकालमा सबैको सुझाव र भावनालाई सम्मान गर्दै संस्थालाई अझ सशक्त र सक्रिय बनाउने प्रतिबद्धता जनाइन् ।

साहित्यिक साँझमा भानुभक्त आचार्यका रामायण श्लोक, समसामयिक कविता, प्रवासी जीवनका अनुभूतिहरू, तथा सांगीतिक प्रस्तुतीमार्फत नेपाली साहित्यिक चेतनाको भावपूर्ण प्रवाह देखिएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट