मन्त्री क्वार्टरमै भेटियो अडियोमा उल्लेखित पैसा, गुप्ताको स्वीकारोक्ति– ‘फसाउन छाडिएको हुन सक्छ’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विवादास्पद अडियोकाण्डमा उल्लेख गरिएको रकम भैँसेपाटीस्थित मन्त्री क्वार्टरमै भेटिएको स्वीकार गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई मौखिक स्पष्टीकरण दिँदै गुप्ताले उक्त रकम क्वार्टरमै भेटिएको बताउँदै आफूलाई फसाउन पूर्व योजनासहित अडियो तयार पारिएको हुन सक्ने दाबी गरेका छन् ।
सरुवा र नियुक्तिमा ७८ लाख रुपैयाँको घुस बार्गेनिङ सम्बन्धी अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री ओली मन्त्री गुप्ताविरुद्ध कारबाहीको तयारीमा लागेका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले गुप्तासँग प्रारम्भिक सोधपुछ गरिसकेका छन् र उनको जवाफ चित्तबुझ्दो नलागेपछि राजीनामा गराउने तयारी गरिएको छ ।
मन्त्री गुप्ताले पैसा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र उनका मान्छेले फसाउनकै नियतले छाडेको दाबी गरेका छन् । उनका अनुसार श्रेष्ठ बिहान ६ बजे मन्त्री क्वार्टरमा आएकी थिइन् र पैसाको झोला छाडेर गएकी थिइन् । त्यसपछि आफू अनुकूल अडियो रेकर्ड गरी सार्वजनिक गरिएको गुप्ताको भनाइ छ ।
गुप्ताले सो आरोप लगाउँदै प्रधानमन्त्रीलाई स्पष्टीकरण दिएका छन् । तर प्रधानमन्त्री ओलीका निकट स्रोतका अनुसार, प्रधानमन्त्री अब झापाबाट फर्किएपछि कडा निर्णय लिन सक्ने सम्भावना रहेको छ ।
अडियो प्रकरणबारे संसदमा पनि आवाज उठेको छ । माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले प्रतिनिधिसभाको शून्य समयमा गम्भीर भ्रष्टाचारको आरोपमा दुई मन्त्रीको नाम जोडिँदा पनि सरकार मौन बस्नु दुःखद भएको बताउँदै तत्काल छानबिन र कारबाहीको माग गरेकी छन् ।
उनका अनुसार, अडियोमा कास्की मालपोत प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग अध्यक्ष नियुक्तिका लागि २५ लाख रुपैयाँ डिल गरिएको उल्लेख छ । यस प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको समेत नाम जोडिएको छ ।
यता, गुप्ताले सार्वजनिक अडियो कृत्रिम बौद्धिक प्रणाली (AI) प्रयोग गरेर बनाइएको हो भन्ने दाबी गर्दै आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आरोपहरू ‘राजनीतिक षड्यन्त्र’ भएको बताउँदै अस्वीकार गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस