अब घरैबाट अनलाइनमार्फत बीमा दर्ता र नवीकरण गर्न सकिने
स्वास्थ्य बीमा बोर्डले सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै स्वास्थ्य बीमामा आबद्ध हुन सक्ने डिजिटल प्रणालीको औपचारिक सुरुवात गरेको छ। अब नयाँ बीमा आबद्धता, बीमालेख नवीकरण, तथा व्यक्तिगत विवरण अद्यावधिक (केवाइसी अपडेट) गर्नेजस्ता सम्पूर्ण कार्यहरू घरबाटै अनलाइनमार्फत गर्न सकिने भएको छ।
बोर्डका प्रवक्ता डा. पवनकुमार शाहले यसअघि सर्वसाधारणले अनिवार्य रूपमा दर्ता सहयोगीमार्फत बीमा गराउनुपर्ने बाध्यता रहेकामा अब डिजिटल प्रणालीमार्फत आफैँले फारम भरेर सबै सेवा लिन सकिने जानकारी दिए।
“हामीले बीमामा आबद्ध हुनका लागि अनलाइनमार्फत आफैँले फारम भर्न मिल्ने प्रणाली सुरु गरिसकेका छौँ,” प्रवक्ता शाहले भने, अबदेखि दर्ता सहयोगीविना नै बीमा आबद्धता र नवीकरणलगायत सबै काम सहजै सम्पन्न हुनेछन्।
विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्धता तथा बीमालेख नवीकरणसम्बन्धी कार्यविधि, २०८३ बमोजिम यो सेवा सुरु गरिएको हो। यस प्रणालीमार्फत सेवा लिँदा भुक्तानीका लागि लोकप्रिय डिजिटल वालेटहरू ‘इसेवा’, ‘खल्ती’ र ‘कनेक्ट आईपीएस’ को प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। नयाँ प्रणालीअनुसार व्यक्ति स्वयम् वा दर्ता सहयोगी दुवैले डिजिटल माध्यमबाट परिवारको बीमा र नवीकरण गर्न सक्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस