डा. देवेन्द्रराज पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व गुमायो: सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिक अगुवा तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। डा. पाण्डेको अवसानले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको उनले बताएका छन्।
सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै महामन्त्री थापाले भनेका छन्, "नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा उहाँले नागरिक तहबाट सङ्घर्षको समन्वय गर्दै निरङ्कुशताविरुद्ध दृढ आवाज उठाउनुभयो र नयाँ पुस्तालाई निरन्तर प्रेरित गरिरहनुभयो।"
डा. पाण्डेको बहुआयामिक व्यक्तित्वको चर्चा गर्दै थापाले अगाडि लेखेका छन्, "अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिनुभयो।"
सार्वजनिक जीवनमा डा. पाण्डेले देखाएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहने उल्लेख गर्दै थापाले उनले प्रज्वलित गरेको नागरिक चेतनाको दीप र बौद्धिक सम्पदाले सधैँ मार्गदर्शन गरिरहने विश्वास व्यक्त गरेका छन् । महामन्त्री थापाले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन् - "नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा जीवनभर निर्भीकतापूर्वक उभिनुभएका श्रद्धेय नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा उहाँले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध दृढ आवाज उठाउनुभयो र नयाँ पुस्तालाई निरन्तर प्रेरित गरिरहनुभयो।
अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिनुभयो। सार्वजनिक जीवनमा उहाँले देखाउनुभएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहनेछ।
सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको पक्षमा उहाँले निर्वाह गर्नुभएको भूमिका विशेष स्मरणीय छ। उहाँले प्रज्वलित गर्नुभएको नागरिक चेतनाको दीप र छोड्नुभएको बौद्धिक सम्पदाले हामीलाई सधैँ मार्गदर्शन गरिरहनेछ।
यस दुःखद घडीमा श्रद्धेय डा. देवेन्द्रराज पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।"



तपाईको प्रतिक्रिया दिनुहोस