एआई अश्लीलता: मलेसियामा एलन मस्कको ‘ग्रोक’माथि प्रतिबन्ध
मलेसियाले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी बनाइएका अश्लील तथा आपत्तिजनक सामग्रीको व्यापक दुरुपयोग भएको भन्दै एलन मस्कको च्याटबोट ‘ग्रोक’ को पहुँचमा अस्थायी प्रतिबन्ध लगाएको छ। मलेसियाको प्रविधि तथा सञ्चार नियामक निकायले आइतबार यसबारे औपचारिक जानकारी गराएको हो।
नियामकका अनुसार ग्रोकमा रहेको तस्बिर निर्माण (इमेज जेनेरेसन) सुविधाको दुरुपयोग गर्दै प्रयोगकर्ताहरूले महिला र बालबालिकाका तस्बिरहरूलाई यौनजन्य, अभद्र तथा गैर–सहमतिपूर्ण रूपमा रूपान्तरण गरेका घटनापछि विश्वव्यापी आलोचना चर्किएको थियो। सोही पृष्ठभूमिमा मलेसियाले कडा कदम चालेको हो।
यसअघि शनिबार इन्डोनेसिया ग्रोकको सम्पूर्ण पहुँच अस्वीकार गर्ने पहिलो देश बनेको थियो। त्यसलगत्तै मलेसियाली सञ्चार तथा मिडिया आयोगले विज्ञप्ति जारी गर्दै, “मलेसियामा प्रयोगकर्ताहरूका लागि एलन मस्कको एआई कम्पनी एक्सएआईले विकास गरेको ‘ग्रोक’ एप्लिकेसनको पहुँच अस्थायी रूपमा रोक्न निर्देशन दिइएको,” भनेको छ।
राजधानी क्वालालम्पुरमा आइतबार एएफपीका एक पत्रकारले ग्रोक प्रयोग गर्न खोज्दा एपले कुनै प्रतिक्रिया नदिएको जनाएको छ। नियामकले स्पष्ट शब्दमा भनेको छ, “यो निर्णय अश्लील, यौनजन्य, घोर आपत्तिजनक तथा गैर–सहमतिपूर्ण रूपमा हेरफेर गरिएका तस्विरहरू उत्पादन गर्न ग्रोकको बारम्बार दुरुपयोग भएपछि लिइएको हो।”
वक्तव्यमा एलन मस्कको ‘एक्स कर्प’ र ग्रोक विकास गर्ने एक्सएआई कम्पनीलाई यसअघि नै पूर्व–नियामक संलग्नता र औपचारिक सूचनाहरू दिइए पनि महिला र नाबालिगहरू समावेश सामग्रीको दुरुपयोग रोक्न असफल भएको उल्लेख गरिएको छ।
ग्रोक सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) मा एकीकृत एआई उपकरण हो। मलेसियाली नियामकले प्लेटफर्मका सुरक्षा संयन्त्र अपर्याप्त रहेको ठहर गर्दै आवश्यक सुधार र परिवर्तनहरू प्रमाणित भएपछि मात्र पहुँच पुनः सुरु गरिने जनाएको छ।
यसैबीच युरोपेली अधिकारी र प्रविधि विज्ञहरूले पनि ग्रोकको विवादास्पद तस्विर निर्माण सुविधा लाई लिएर कडा आलोचना गरेका छन्। यौनजन्य ‘डिपफेक’ सामग्रीको बढ्दो जोखिमका बीच यस्तो एआई सुविधा सार्वजनिक प्रयोगका लागि खुला राख्नु गम्भीर चिन्ताको विषय भएको उनीहरूको टिप्पणी छ।



तपाईको प्रतिक्रिया दिनुहोस