बेलायतको सबैभन्दा ठूलो सरकारी विभागमा साइबर आक्रमण
बेलायतको सबैभन्दा बढी बजेट खर्च गर्ने सरकारी निकाय ‘डिपार्टमेन्ट फर वर्क एन्ड पेन्सन’ (डीडब्लूपी) माथि ठूलो साइबर आक्रमण भएको छ । विभागले शनिबार एक विज्ञप्ति जारी गर्दै पछिल्ला केही दिनदेखि आफ्ना प्रणालीहरू बन्द गर्न बाध्य पार्ने घटना नियोजित साइबर आक्रमण भएको पुष्टि गरेको हो ।
सेवानिवृत्त नागरिक तथा सरकारी कल्याणकारी सहायता प्राप्त गर्ने लाखौँ व्यक्तिलाई पेन्सन र विभिन्न सामाजिक सुविधा वितरण गर्ने यस विभागको प्रणालीमा अनधिकृत पहुँच बनाउने प्रयास भएको थियो । आक्रमणमा संलग्न व्यक्ति वा समूहको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन ।
बिहीबार राति पहिलोपटक पत्ता लागेको उक्त घटनापछि सावधानी अपनाउँदै विभागका कैयौँ अनलाइन सेवा बन्द गरिएका थिए, जसमध्ये अधिकांश शनिबारसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । यद्यपि, हालसम्म सेवाग्राहीको व्यक्तिगत विवरण चोरी भएको कुनै प्रमाण फेला नपरेको र पेन्सन तथा अन्य सरकारी सुविधाको भुक्तानी भने नियमित रूपमै भइरहेको विभागले स्पष्ट पारेको छ ।
घटनाको प्रकृति र प्रभाव पत्ता लगाउन विभागको प्राविधिक टोली र साइबर सुरक्षा विज्ञहरूले ‘नेसनल साइबर सेक्युरिटी सेन्टर’ र ‘गभर्मेन्ट साइबर कोअर्डिनेसन सेन्टर’ सँग सहकार्य गरी अनुसन्धान गरिरहेका छन् । उता, बेलायती प्रधानमन्त्रीको कार्यालयले शुक्रबार अन्य सरकारी विभागहरूमा साइबर आक्रमण भएको कुनै प्रमाण नभेटिएको जनाएको छ ।
बेलायतमा बढ्दो साइबर जोखिम
यो आक्रमण बेलायतमा पछिल्लो समय देखिएका साइबर सुरक्षासम्बन्धी घटनाहरूको शृङ्खलामा अर्को गम्भीर कडी हो । हालै युरोपभरिका सुपरमार्केटमा प्रयोग हुने सफ्टवेयर ह्याकिङको निशानामा पर्दा बेलायतका केही मासु आपूर्तिकर्ताका रेफ्रिजरेटरको तापक्रम अचानक बढेर समस्या निम्तिएको थियो ।
यसै महिनाको सुरुतिर बेलायतका साइबर सुरक्षा प्रमुखले सन् २०२८ सम्ममा देशका महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी कृत्रिम बुद्धिमत्ता (एआई) आधारित साइबर आक्रमण हुन सक्ने चेतावनी दिएका थिए । साइबर अपराधीका साथै चीन र रुसजस्ता देशले समेत साइबर गतिविधिमा एआईको प्रयोग तीव्र गतिमा बढाउँदै लगेकाले जोखिम झन् चुलिएको उनको भनाइ थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस