आज विश्व रेडियो दिवस मनाइँदै
आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा यो दिवस विशेष रूपमा मनाउने गरिएको छ।
UNESCO को अगुवाइमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन थालिएको हो। सन् १९४६ मा स्थापना भएको संयुक्त राष्ट्रसंघीय रेडियो सेवाको स्मरणमा यो दिवस मनाउने परम्परा सुरु गरिएको हो। युनेस्कोले पाँचै महादेशमा ‘डिजिटल’ प्रसारणमार्फत शैक्षिक सामग्री स्रोतासमक्ष प्रस्तुत गर्ने जनाएको छ।
युनेस्कोका अनुसार सञ्चार माध्यमका रूपमा रेडियोको महत्वबारे जनचेतना अभिवृद्धि गर्नु, नीति–निर्माताहरूलाई सूचना पहुँच सुनिश्चित गराउन प्रेरित गर्नु, रेडियोको उपयोग प्रवर्द्धन गर्नु तथा विश्वभरका प्रसारकहरूबीच अन्तर्राष्ट्रिय सहकार्य सुदृढ बनाउनु यस दिवसको मुख्य उद्देश्य हो।
मानव समाजको विविधतालाई उत्सवका रूपमा मनाउने सशक्त माध्यमका रूपमा रेडियोलाई लिइन्छ। लोकतान्त्रिक संवादका लागि रेडियो प्रभावकारी मञ्चका रूपमा स्थापित छ। विश्वस्तरमा अझै पनि सबैभन्दा धेरै सुनिने सञ्चार माध्यमका रूपमा रेडियो अग्रस्थानमा रहेको छ।
व्यापक श्रोतासम्म सहजै पुग्ने यसको विशेष क्षमताले समाजमा विविधताको सम्मान गर्न, सबै आवाजलाई बोल्ने र सुन्ने अवसर दिन सार्वजनिक चौतारीको भूमिका निर्वाह गरेको छ।
युनेस्कोले रेडियो ‘स्टेशन’हरूले विविध समुदायलाई समेट्ने कार्यक्रम, दृष्टिकोण र सामग्री उत्पादन गर्नुपर्ने तथा आफ्ना संरचना र सञ्चालनमा पनि श्रोताको विविधता प्रतिबिम्बित गर्नुपर्नेमा जोड दिएको छ।
कम लागतमा सञ्चालन गर्न सकिने भएकाले रेडियो दुर्गम क्षेत्र तथा जोखिममा रहेका समुदायसम्म सूचना पुर्याउन अत्यन्त प्रभावकारी माध्यम मानिन्छ। शैक्षिक स्तरको भेदभाव नगरी सार्वजनिक बहसमा सहभागी हुन समान अवसर प्रदान गर्नुका साथै आपतकालीन सूचना प्रवाह र विपद् व्यवस्थापनमा समेत रेडियोको भूमिका महत्वपूर्ण रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस