रिचार्ज काठमाडौँ अभियान सुरु गर्दै काठमाडौँ महानगर
काठमाडौँ महानगरपालिकाले ‘काठमाडौँ जलवायु कार्य सप्ताह–२०८३’ आयोजना गर्ने भएको छ । केही हप्ताअघि मात्रै विश्व सम्पदा क्षेत्र वसन्तपुरबाट सम्पदा यात्रासहित ‘काठमाडौँ फिल्म फेस्टिभल’ सम्पन्न गरेको महानगरपालिकाले लगत्तै जलवायुसम्बन्धी बृहत् कार्यक्रम गर्न लागेको हो ।
स्थानीय तहमा जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका प्रयासहरूलाई प्रभावकारी बनाउन ‘काठमाडौँ जलवायु कार्य सप्ताह–२०८३’ आयोजना गर्न लागिएको महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलले जानकारी दिइन् ।
जलवायु परिवर्तनको प्रभावबारे हामी सबै भुक्तभोगी छौँ । हामीले फेर्ने श्वासदेखि पिउने पानी अनि बस्ने सहरसम्म यसबाट प्रभावित छ । कार्यवाहक मेयर डङ्गोलले भनिन्, “अब पनि गरौँला–हेरौँला भनेर बस्ने फुर्सद हामीसँग छैन । काममै उत्रिनुपर्छ भन्ने सन्देश दिन यसलाई ‘कार्य सप्ताह’ भनिएको हो ।” सप्ताहव्यापी कार्यक्रममा महानगरपालिकाले केही न केही नयाँ कार्यको थालनी गर्ने उनले बताइन् ।
सप्ताहव्यापी कार्यक्रमको कार्यतालिका यस्तो छ:
पहिलो दिन (उद्घाटन तथा रिचार्ज अभियान): उद्घाटनका दिन भोटेकोशी बाढी प्रभावित जिल्लाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूको अनुभव र कुरा सुनिनेछ । सोही दिन राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौँ अभियान’ को थालनी गरिनेछ । महानगरभित्रका विद्यालयहरूमा कहाँ–कहाँ आकाशे पानी पुनर्भरण (रिचार्ज) गर्न सकिन्छ भन्ने अध्ययन भइसकेको र सोहीअनुसार काम अघि बढाइने डङ्गोलले बताइन् ।
दोस्रो दिन (जलवायु वित्त): दोस्रो दिन ‘जलवायु वित्त’ बारे विज्ञहरूसँग विचार मन्थन हुनेछ । जसमा जलवायु अनुकूलन तथा उत्थानशील पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु कोष, हरित नगर ऋणपत्र, सरकारी वित्तीय स्रोत र निजी क्षेत्रको लगानी परिचालनका विषयमा छलफल गरिनेछ ।
तेस्रो दिन (सम्पदा र नागरिक विज्ञान): तेस्रो दिन ‘नागरिक विज्ञान, सम्पदा र जलवायु परिवर्तनका असर’ विषयमा विमर्श हुनेछ । यसअन्तर्गत परम्परागत हिटी प्रणालीको संरक्षण, ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, भूमिगत जल पुनर्भरण तथा पानीको गुणस्तर परीक्षणसम्बन्धी प्रदर्शनी गरिनेछ । साथै विज्ञ, अनुसन्धानकर्ता, युवा र स्थानीय समुदायबीच सामुदायिक ज्ञानका विषयमा छलफल हुनेछ ।
चौथो दिन (ऊर्जा प्रणाली): चौथो दिन ‘ऊर्जा प्रणाली र जलवायु परिवर्तन’ विषयमा केन्द्रित रहनेछ । सो दिन स्वच्छ ऊर्जा, विद्युतीय सवारी साधन, ऊर्जा भण्डारण प्रविधि र फोहोरमैला व्यवस्थापनबारे समानान्तर सत्रहरू चल्नेछन् । सोही अवसरमा टेकुस्थित बायोग्यास प्लान्टको उद्घाटन गर्नुका साथै सफा टेम्पो र विद्युतीय सवारी प्रवर्द्धनसम्बन्धी कार्यक्रम गरिनेछ ।
पाँचौँ दिन (बालबालिका तथा युवा दिवस): पाँचौँ दिन ‘बालबालिका तथा युवा जलवायु कार्य दिवस’ मनाइनेछ । यस दिन ५० भन्दा बढी विद्यालयमा एकैपटक फोहोर वर्गीकरण, विद्यालयको वातावरणीय अवस्था पहिचान, जलवायु खेल, वृक्षरोपण योजना तथा सिर्जनात्मक गतिविधि सञ्चालन हुनेछन् । साथै विद्यार्थीद्वारा निर्मित नवीन प्रविधि, हरित आविष्कार र इको क्लबका गतिविधि प्रदर्शनीमा राखिनेछ ।
छैटौँ र सातौँ दिन: छैटौँ दिन ‘खाद्य प्रणाली र जलवायु परिवर्तन’ तथा सातौँ अर्थात् अन्तिम दिन ‘जलवायु परिवर्तनका असर घटाउन नागरिक समाज, गैरसरकारी तथा अन्तरसरकारी संस्थाको दायित्व’ विषयमा कार्यक्रम केन्द्रित हुनेछ ।
भविष्यमा आउन सक्ने जलवायु जोखिमको सामना गर्न नयाँ पुस्तालाई तयार पार्ने उद्देश्यले महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ भिडियो प्रतियोगितासमेत आयोजना गरेको छ ।
महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले यसमा सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार र सान्त्वना स्थान हासिल गर्ने ७ जनालाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
उत्कृष्ट स्थान हासिल गर्ने १० जना विद्यार्थीलाई ‘काठमाडौँ महानगरपालिकाका लागि जलवायु परिवर्तन सद्भावना दूत’ को उपाधि प्रदान गरी वर्षभरि नै सिर्जनात्मक भूमिकामा सक्रिय बनाइने महानगरपालिकाले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस