संविधानको कालो अध्याय लेख्नेहरूले आज संविधानकै दुहाई दिइरहेका छन्: अमित शाह
भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीमाथि कडा कटाक्ष गर्दै उनी विगत २० वर्षदेखि लगातार चुनावी हारको सामना गरिरहेको टिप्पणी गरेका छन् ।
नयाँ दिल्लीमा आयोजित ‘संविधान गौरव दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री शाहले भारतीय लोकतन्त्रको जग अत्यन्तै मजबुत रहेको र विश्वभर यसको सम्मान हुने गरेको बताए । सोही क्रममा उनले कांग्रेस नेता गान्धीको कार्यशैलीप्रति तिखो व्यङ्ग्य प्रहार गरे ।
राहुल गान्धीले सधैँ संविधानको दुहाई दिने गरे पनि व्यवहारमा भने संविधान र संवैधानिक संस्थाहरूको उपहास गर्ने गरेको शाहको आरोप थियो ।
“राहुलजी सधैँ संविधानको कुरा गर्नुहुन्छ, तर त्यही संविधान र यसले निर्माण गरेका संस्थाहरूको खिल्ली उडाउनुहुन्छ,” शाहले भने, “उहाँ संसद्मा खुलेर बहस गर्न चाहनुहुन्न, बरु सडकमा बहस गर्नुपर्छ भन्दै हिँड्नुहुन्छ ।”
गृहमन्त्री शाहले गान्धीमाथि निर्वाचन आयोगलाई बदनाम गराउन खोजेको, मतदाता सूचीको विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रियामाथि अनावश्यक प्रश्न उठाएको तथा विदेश भ्रमणमा गएर विश्वसामु भारतको छवि धुमिल्याउने प्रयास गरेको आरोपसमेत लगाए ।
“राहुलजीको मुख्य समस्या के हो भने उहाँ विगत २० वर्षदेखि लगातार चुनाव हारिरहनुभएको छ,” शाहले व्यङ्ग्य गर्दै भने ।
उत्तर भारतमा प्रचलित ‘नाच्न नजान्ने आँगन टेढो’ भन्ने उखान उद्धृत गर्दै गृहमन्त्री शाहले गान्धी हरेक तीन महिनामा बिदा मनाउन विदेश जाने गरेको टिप्पणी गरे ।
सम्बोधनका क्रममा शाहले सन् १९७५ को आपत्कालीन अवस्थाको प्रसङ्ग कोट्याउँदै कांग्रेसले विगतमा संविधानको भावनालाई कुण्ठित गरेको आरोप पनि लगाए ।
पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीप्रति लक्षित गर्दै शाहले प्रश्न गरे, “तपाईं त्यही पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ, जसले आपत्कालका बेला १८ महिनासम्म संविधानको सम्पूर्ण भावनालाई अँध्यारो कारागारमा कैद गरेको थियो । संविधानको त्यो कालो अध्याय तपाईंको पार्टी र तपाईंकै हजुरआमाले लेख्नुभएको थियो । अनि आज कुन नैतिकताले संविधानको कुरा गर्दै हुनुहुन्छ ?”



तपाईको प्रतिक्रिया दिनुहोस